हुँदै नभएको गाडीका लागि बैंकबाट करोडौ कर्जा लिएर ठगी

dev-bikash

 काठमाडौं । हुँदै नभएको गाडीको नाममा समेत कर्जा प्रवाह गरी बैंकबाट कर्जा लिएर ठगी भएको खुलेको छ । यो प्रकरणमा झन्डै तीन करोड अनियमितता गर्ने बैंकका कर्मचारीसहित आठजना पक्राउ परेका छन् ।

सुन्धारामा केन्द्रीय कार्यालय रहेको देवः विकास बैंकमा अनियमितता गर्ने बैंकका शाखा प्रबन्धक सरिनशंकर श्रेष्ठसहित आठैजनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ प्रक्रिया अघि बढाएको हो । सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ । थप आठजनालाई फरार प्रतिवादीका रूपमा मुद्दा दायर गर्न लागेको छ ।

गिरोहका मुख्य नाइके केदार ढुंगाना र नारायण श्रेष्ठ हुन् । ढुंगाना विदेश पुगिसकेका छन् भने श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । ढुंगाना पोर्चुगल पुगिसकेको प्रहरीले बतायो । उनलाई नेपाल ल्याउन अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)मार्फत डिफ्युजन नोटिस जारी गरिएको छ । अनियमित तरिकाले प्रवाह भएकोमध्ये एउटा कर्जा उनको नाममा जारी भएको थियो ।

श्रेष्ठले आफन्तहरूलाई नै फसाएका छन् । उनीसहित प्रहरीले ऋणीहरू बालकृष्ण श्रेष्ठ, नवीन श्रेष्ठ, चेतबहादुर श्रेष्ठ, विकास श्रेष्ठलाई पक्राउ गरेको हो । बालकृष्ण काभ्रेको भुम्लु गाउँपालिकाका वडा सदस्य समेत हुन् ।

त्यस्तै, बैंकका शाखा प्रबन्धक सरिन शंकर श्रेष्ठ र धितो मूल्यांकनकर्ता नरेशमान अमात्यसमेत पक्राउ परेका छन् । ऋणीहरू कृष्णबहादुर खत्री, विजयबहादुर श्रेष्ठ, डाँकबहादुर श्रेष्ठ, दुवालाल श्रेष्ठ, सम्झना श्रेष्ठ र लोकबहादुर श्रेष्ठ फरार छन् । उनीहरू सबै नारायण श्रेष्ठका आफन्त हुन् ।

त्यसरी निकालिएको पैसामध्ये धेरै नारायण श्रेष्ठले लिएका थिए । आफन्तलाई केही खर्च दिएर हस्ताक्षर गर्न लगाइएको उनीहरूले बताएका छन् । पक्राउ परेका श्रेष्ठले पनि धेरै पैसा आफैँले लिएको स्वीकार गरेका छन् । ०७२ मा भूकम्पमा आफ्ना तीन कन्टेनर पहिरोमा पुरिएपछि आर्थिक समस्यामा फसेको र कर्जा तिर्न नसकेको उनले बताएका छन् ।

घटनामा यातायात व्यवस्था कार्यालयका केही कर्मचारीको समेत मिलेमतोको आशंका गरिएको छ । उनीहरूले गाडी दर्ता नै नभई ब्लुबुकहरू दिएका थिए । त्यसरी ब्लुबुक दिने कर्मचारीको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । पाँच जना यातायातका कर्मचारीहरूमाथि अनुसन्धान जारी रहेको सिआईबीका अधिकारीले जनाएका छन् ।

अनुसन्धान पूरा गरी प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको सिआईबीका प्रवक्ता एसपी उमाप्रसाद चतुर्वेदीले बताए । उनीहरूविरुद्ध सरकारी छाप, दस्तखत कीर्ते मुद्दा पनि दायर हुने भएको छ ।

०७१ र ०७२ मा देवः विकास बैंकबाट १६ वटा कर्जा प्रवाह भएका थिए । १७ गाडी र एउटा जग्गाका आधारमा दुई करोड ७८ लाख कर्जा प्रवाह गरिएको थियो । कर्जा कन्टेनर व्यवसायी नारायण श्रेष्ठलाई चाहिएको थियो । व्यापार गर्न पैसा नभएको र बैंकमा ऋण लिन धितो पनि नभएपछि उनी समस्यामा थिए । साथी केदार ढुंगानाको सहयोगमा ‘कागजी गाडी’ र नक्कली ब्लुबुक बनाएर मनलाग्दी ऋणीहरूको फोटो टाँसेर नम्बरहरू राखे ।

बैंकमा पनि उनीहरूले सेटिङ मिलाएका थिए । गाडी र जग्गाको धितो मूल्यांकन गरी कर्जा प्रवाह भयो । सबै गाडीको ब्लुबुक बैंकमा बुझाइसकेका थिए । त्यसकारण बैंकले सोही आधारमा कर्जा प्रवाह गर्‍यो ।

तर, कर्जा प्रवाह गर्नुअघि ती गाडी यातायात व्यवस्था कार्यालयमा रोक्का राख्नुपर्नेमा त्यो भएन । रोक्काका लागि यातायातमा पत्र गयो, तर रोक्का भए–नभएको यकिन गरिएन । सोही समूहले गाडी रोक्का राखेको भनेर पत्रमा छाप हानेर पठाइदिएको बैंकका कर्मचारीको भनाइ छ । बैंकका शाखा प्रबन्धक सरिन श्रेष्ठ रहेको शाखाबाट कर्जा प्रवाह भएकाले उनको मिलेमतो भएको प्रहरी बताउँछ । (नयाँ पत्रिका )

प्रतिक्रिया

सम्बन्धित