देशकै नमुना बन्दै भक्तपुरको सफाई अभियान

Hanu

 

भक्तपुर ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले २०७४ साल फागुन १९ गते शनिबार हनुमन्ते सफाइ अभियानको उद्घाटन गर्दा धेरैलाई लागेको थियो, यो सांसद महेश बस्नेतको नाटक हो, धेरै दिन टिक्दैन ।

सूर्यविनायक नगरपालिका–२ बालकोट र मध्यपुरथिमि नगरपालिका–३ कौशलटारको सिमानामा रहेको हनुमन्ते खोलामा १०० हप्ते हनुमन्ते नदी सफाइ अभियानको उद्घाटनमा हजारौँ सहभागीमध्ये धेरैले यसलाई चर्चामा आउने नाटकको सङ्ज्ञा दिएका थिए तर राज्यको लगानी बिना नै शुरु भएको बाग्मतीको सहायक हनुमन्ते नदी सफाइ अभियानले ४८ औँ हप्ता पार गरिसक्दा देशकै नमूना सफाइ अभियानको रूपमा यो परिचित बन्न सफल भएको छ ।

नेतृत्व लिने शक्ति सबल र अभियानकर्मीको इच्छा शक्ति भए जस्तोसुकै अभियान पनि सफल हुन्छ भन्ने यथार्थतालाई हनुमन्ते नदी सफाइ र पछिल्लो समयमा शुरु भएको अरनिको राजमार्ग सफाइ अभियानले चरितार्थ गरेको छ ।

राज्यको लगानी बिना कुनै पनि काम गर्न सकिन्न भन्ने आम मानसिकतालाई परिवर्तन गर्दै यो अभियानले राज्यको एक पैसा लगानी बिना पनि सञ्चालन गरिएका अभियान सफल हुन्छन् भन्ने देखाइदिएको बताउनुहुन्छ अभियानका नेतृत्वकर्ता सांसद महेश बस्नेत । भक्तपुरका चारैवटा नगरपालिका क्षेत्रलाई सफा र सुन्दर बनाउँदै पर्यटकीय ‘जोन’का रूपमा विकास गर्ने लक्ष्यका साथ २०७४ साल फागुन १२ गते मध्यपुरथिमिको चाणक्य कलेजमा भएको भेलाबाट सफाइ अभियान सञ्चालन गर्ने निर्णय गरिएको थियो ।

सोही भेलाबाट सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा संयोजक र मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी उपसंयोजक रहने गरी अभियानकर्मीसहितको सफाइ अभियान कमिटी बन्दै गर्दा सोही दिन भेलाबाटै रु एकलाख नगद तथा जिन्सी सङ्कलन भएको थियो ।

अभियानका संयोजक थापाले अहिलेसम्म स्वतःस्फूर्तरूपमा दाता र अभियानकर्मीबाटै सङ्कलन भएको नगद र जिन्सीकै भरमा अभियान सञ्चालन भइरहेको बताउनुभयो । वर्षा र जाडोमा समेत निरन्तर सञ्चालन भइरहेको यो अभियानमा प्रत्येक साताको शनिबार सांसद बस्नेत हातमा कुचो लिएर हनुमन्ते नदी र प्रत्येक शनिबार र मङ्गलबार अरनिको राजमार्गमा आफैँ निस्किएसँगै सयौँ अभियानकर्मी हातहातमा कुचो, डोको र सफाइका विभिन्न औजार लिएर सफाइमा खटिने गरेका छन् ।

हनुमन्ते नदीसँगै गत मङ्सिर ६ गते गृहमन्त्री रामबहादुर थापाले उद्घाटन गर्नुभएको अरनिको राजमार्ग सफाइ अभियानको पहिलो चरणको एक महीने अभियान, दोस्रो चरणको हनुमन्ते र राजमार्ग सफाइ अभियान हुँदै अहिले तेस्रो चरणमा प्रत्येक बुधबार र शनिबार राजमार्ग सफाइ अभियान निरन्तर चलिरहेको छ । आज अरनिको राजमार्ग सफाइ अभियानको तेस्रो चरणको १० औँ दिन मध्यपुरथिमिको राधेराधेदेखि जडीबुटीको मनोहरा किनारासम्म सफाइ भयो ।

प्रत्येक मङ्गलबार सांसद बस्नेतकै नेतृत्वमा बस्ने सफाइ अभियानको बैठकले शनिबार कुन ठाउँबाट कसको नेतृत्वमा सफाइ सञ्चालन गर्ने भन्ने तय गरेर शुरु हुने अभियान अहिले अरनिको राजमार्गमा समेत तीव्रगतिमा भइरहेको छ ।

सफाइ अभियानका उत्प्रेरक रुद्र पौडेलले वातावरण मन्त्रालयले भक्तपुरको सफाइ अभियानलाई देशकै नमूना र अग्रस्थानको सफाइ अभियानको रूपमा लिएको बताउनुभयो । हरेक बुधबार राजमार्ग सफाइ र हरेक शनिबार हनुमन्ते तथा राजमार्ग सफाइमा सयाँै अभियानकर्मी निरन्तररूपमा सहभागी भइरहेको बताउँदै पौडेलले विभिन्न जिल्लामा यसको प्रभाव परेको बताउनुहुन्छ ।

शुरुमा हनुमन्ते सफाइ अभियान चलिरहँदा सफाइ भएकै ठाउँमा अभियानलाई असफल बनाउन फेरि फोहर फाल्ने गरे पनि अभियानकर्मी र नगरपालिकाले विभिन्न उपाय अवलम्बन गरेपछि अहिले हनुमन्तेमा फोहर फाल्ने काम बन्द भएको छ । ठाउँठाउँमा अनुगमन समिति बनाउने, सिसी क्यामरा जडान गर्ने र कारवाहीको नीति अगाडि बढाएपछि नदी तथा राजमार्गमा फोहर फाल्ने क्रम घट्नुका साथै फोहरको व्यवस्थापन जनस्तरमा आफैँले गर्न थालेको संयोजक थापा बताउनुहुन्छ ।

सांसद बस्नेत भक्तपुरको सफाइ अभियान नमूनाको रूपमा अगाडि बढेपछि अन्य जिल्लाले पनि सफाइ अभियान शुरु गरेको दाबी गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ– “यो अभियानको ‘मोडालिटी’ बारेमा विभिन्न जिल्लाले जानकारी लिइरहेका छन्, कतिपय जिल्लामा त यही ‘मोडालिटी’मा सफाइ अभियान शुरु भइसक्यो, यो खुशीको कुरा हो ।”

यो अभियानलाई प्रत्येक नगरपालिकालाई जिम्मा दिई वडावडामा सञ्चालन गर्ने गरी अगाडि बढाइने र राजमार्गमा कर्मचारी खटाएर सफाइ गरी सिङ्गो भक्तपुर जिल्लालाई सफा बनाउने अभियान साकार बनाउने सांसद बस्नेत बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हनुमन्ते सफाइ अभियानसँगै जोडेर राजमार्ग सफाइ शुरु ग¥यौँ, अब कोटेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्म राजमार्गलाई हरियाली बनाउने, दुबो लगाउने काम शुरु गर्दैछौँ, त्यसका साथै राजमार्गमा दुर्घटना कम गर्न ट्राफिक ‘आइल्याण्ड’, आकाशे पुल, चोकचोकमा सिसी क्यामेरा र सौर्यबत्ती जडान गर्ने कामलाई अगाडि बढाएका छौँ ।”

हनुमन्ते करिडोर निर्माण कार्य तीव्रगतिमा भइरहेको बताउँदै उहाँले यसको निर्माण सम्पन्नसँगै आगामी तीन वर्षभित्र हनुमन्तेमा बगेको ढललाई व्यवस्थापन गरी हनुमन्तेमा पहिलाको जस्तै सफा पानी बगाउने लक्ष्यका साथ अगाडि बढेको बताउनुभयो ।
रासस 

प्रतिक्रिया

सम्बन्धित