तेस्रो चरणको निर्वाचनका लागि सुरक्षा तयारी पूरा, सीमा नाकामा तालिम प्राप्त कुुकुर

काठमाडौँ । असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ । निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै सुरक्षा तयारी पूरा भएको मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले वताए ।

  प्रदेश नं २ का आठ जिल्ला सप्तरी, सिराहा, महोत्तरी, सर्लाही, पर्सा, रौतहट, बारा र धनुषामा असोज २ गते १३६ स्थानीय तहका लागि निर्वाचन हुँदैछ । यो प्रदेशमा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् । प्रवक्ता सुवेदीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसनधान विभाग गरी करिब ६० हजार सुरक्षाकर्मी निर्वाचनमा परिचालन गरिने जानकारी दिए । आवश्यकताअनुसार सो संख्या बढ्नसक्ने समेत उनको भनाइ छ ।

 निर्वाचनको समयमा सुरक्षा निकायले तीन घेरामार्फत सुरक्षा प्रदान गर्नेछ । जसअनुसार पहिलो भित्री घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा बाहिर नेपाली सेना रहनेछ । निर्वाचनलाई मध्यनजर गर्दै गएराति १२ बजेदेखि नै निर्वाचन हुने आठ जिल्लामा भारतसँग सीमा जोडिएका क्षेत्रमा सीमा नाका बन्द गरिएको छ । निर्वाचन भइरहेका आठ जिल्ला भारतसँग सीमा जोडिएकाले सीमामा केही दिनदेखि नै विशेष निगरानी बढाइएको थियो ।

  खुला सीमाको फाइदा उठाउँदै हतियार, विस्फोटक पदार्थ तथा आपराधिक समूह भित्रिनसक्ने नाका बन्द गरिएको हो ।अवैध हातहतियार र आपराधिक गतिविधिमा संलग्न व्यक्ति नेपाल प्रवेश गर्न लागेमा तालीम प्राप्त कुकुरले सुघेर पत्ता लगाउने भएकाले सबै सीमा नाकामा तालीम प्राप्त कुुकुर परिचालन भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित