रुपा हत्या प्रकरण : जन्त जान रोकेपछि घरमा काम गर्नेले नै हत्या गरेको स्वीकार

hatya

 चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारीमा स्थानीय रुपा थापाको हत्या सोही घरमा काम गर्न बसेका किशोरले गरेको पुष्टि भएको छ । यही माघ १४ गते राति थापाको हत्या भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार थापाको हत्या घरमा काम गर्न बसेका धादिङ ताल्तीखोलका १४ वर्षीय सन्तोष आलेमगरले गरेको पुष्टि भएको हो । मगरले आफूलाई जन्त जान रोकेपछि आवेगमा आई खुकुरी प्रहार गरी थापाको हत्या गरेको स्वीकार गरेका छन् । घटनाक्रमअनुसार सोही दिन बिहान छिमेकीको विवाहमा जन्त जान बस चढेका मगरलाई थापाले रोकेकी थिइन् । बढी जिद्धी गरेपछि उनी जन्त गएका थिए ।

समय–समयमा आफूलाई गाली गर्ने गरेको भन्दै आवेगमा आएर हत्या गरेको शुक्रबार सरकारी वकिलको कार्यालयमा वयानका क्रममा मगरले बताएका थिए । दश महीनाअघि घरको काम गर्न मगरलाई थापा परिवारले राखेको थियो । छोरी ज्वाइँले धादिङका ती किशोरलाई खोजेर घरमा काम गर्न पठाएका थिए । घरमा रहेका कुखुरा र भण्डारामा रहेको घरको रेखदेख गर्न बसेका मगरले खुकुरी प्रहार गर्दा टाउकाको चार ठाउँमा र पाखुराको एक ठाउँमा चोट लागेको थियो ।

थापाको जेठो छोराले घरको रेखदेख गर्ने भए पनि कामका सिलसिलामा जिल्ला बाहिर गएका बेला सो घटना भएको थियो । थापाको श्रीमान्समेत घरमा नरहेको बेला ती किशोरले उनको हत्या गरेका थिए ।अनुसन्धानका लागि प्रहरीले अन्य पाँचलाई पनि नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित