हरेक ठाउँमा चुक्न थाल्यो सरकार

sarkar

    दुई तिहाइको सरकारबाट जनताले मुलुकका लागि राम्रो काम हुन्छ भनेर अपेक्षा गरेका थिए । शुरुवाती दिनमा सरकारले राम्रा कामको शुरुवात गरेको पनि थियो । जनतामा आश जागेको थियो । सिण्डिकेटसहितका शुरुवाती कामले प्रशंसा पाएपनि धेरै दिन त्यो खुसी टिक्न सकेन । एक सय दिनको मूल्यांकनसँगै दुई तिहाइको सरकार ओरालो लाग्न थाल्यो ।

सरकारको ओरालो लाग्ने क्रम रोकिएको छैन । दिन प्रतिदिन सरकारले आलोचना मात्रै खेप्दै आएको छ । नेकपाभित्रको आन्तरिक द्वन्द्व र किचलोले झन् समस्या उत्पन गराएको छ । नेकपाको बैठक बस्नै सकेको छैन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई भित्रभित्रै असहयोग गर्दै आएका छन् । सरकारलाई अफ्ठ्यारो पर्ने गरेर प्रचण्डको गतिविधि हुने गरेको प्रधानमन्त्री केपी शर्मा ओली पक्षको बुझाई छ ।

ओलीका विरुद्ध प्रचण्डले गोप्य भेला र बैठकहरू गर्दै आएका छन् । प्रचण्डको यो कार्यले पनि सरकार लोकप्रियतातिर भन्दा पनि अलोकप्रियतातिरै केन्द्रित छ भन्ने देखाएको छ । आफ्नै पार्टीभित्रको विवादलाई ओलीले मिलाउन नसकेको हुन् वा मिलाउन नचाहेका हुन् केही भनिएको छैन । तर, ओलीका लागि पछिल्ला समय र दिनहरू उपयुक्त छैनन् ।

दुई तिहाइको सरकारले आफ्नो पार्टीभित्रको विवाद त मिलाउन सकेन नै, प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई चिढ्याएको छ । कांग्रेसले ओली सरकारविरुद्ध आन्दोलन घोषणा गरेको छ । आज कांग्रेसले सरकारविरुद्ध देशभर आन्दोलन गर्दै छ । सानो समूहमा रहेको छ भनेर ओलीले कांग्रेसलाई हेप्न खोज्नु सरकारका लागि घात हुन पुगेको छ । कांग्रेसले सरकारविरुद्ध आक्रोशित रहेको जमातलाई संगठित बनाएको छ । कांग्रेसको पछिल्लो कदम ओली सरकारका लागि ठूलो अबरोध बनेर आएको छ ।

ओलीले सहमति र सहकार्यको राजनीतिलाई ध्यान दिनुपर्छ । उनले आफ्नो पार्टीलाई भन्दा पनि पहिला प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई विश्वासमा ल्याउनु अनिर्वाय छ । होइन भने आगामी दिन कठिन हुने संकेतहरू देखापरिसकेका छन् । यो कुरा ओलीलाई राम्रोसँग जानकारी छ । कांग्रेसलाई संसदमा पेलेर जान खोज्दाको परिणाम दुई हप्ताको समयमा ओलीले देखिसकेका छन् ।

कांग्रेस पनि अवसरको खोजीमा छ । सरकारले गल्ती गरेको भेटाउनेवित्तिकै कांग्रेसले ओली सरकारलाई नङग्याउन बाँकी राखेको छैन । सरकारले पनि कांग्रेसलाई सकेसम्म पेलेरै जाने भनेर बनाएको नीतिमा पुनःविचार गर्नुपर्छ । होइन भने सरकारलाई समस्या पर्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित