सेमिनारका नाममा विद्यार्थी ठगिए, गिरोहको जालो च्यात्दै अपराध महाशाखा

काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि ऋण नै गरेर भएपनि नेपाली विद्यार्थीहरू विदेश गइरहेका छन् । त्यसमाथि पनि उच्च शिक्षाका लागि नेपाली विद्यार्थीहरूको पहिलो रोजाई बनेको छ अष्ट्रेलिया । पढाईसँगसँगै उज्ज्वल भविश्यको खोजिमा भौतारिरहेका  विद्यार्थीहरूको जीवनमाथि नै खेलवाड गर्ने अपराधीहरूलाई कानूनी दायरामा ल्याउनै पर्छ ।

 त्यसमाथि पनि विदेशी नै नेपाल आएर नेपाली विद्यार्थीहरूलाई ठगि गर्नेलाई हदैसम्मको कारवाही हुनुपर्छ । अहिले कतिपय नाम चलेका एजुकेशन कन्सल्टेन्सीहरूले सेमिनारका लागि भनेर विद्यार्थीहरूलाई अस्ट्रेलिया,युके, जापानलगायतका देशहरूमा पठाउने नाममा व्यक्ति १० देखि १५लाखका दरले उठाई बिदेशमा नै छोडेर कमाउने धन्दा सुरु गरेका छन् । महानगरीय अपराध महाशाखाले अध्यागमन विभागसँग मिलेर सेमिनारमा जानेहरूको सूची नै उतारी अनुसन्धान सुरु गर्न लागेको एक डिएसपीले वताए । सेमिनारमा भाग लिन प्रस्थान गरेको मिति,भिसाको समय र कार्यक्रम सकिएपछि नेपाल फर्कनेको सूची अनुसन्धान गरेपछि धेरै कन्सल्टेन्सीहरूको पोल खुल्ने हुँदा महाशाखाले यसलाई गम्भीर ढंगले अनुसन्धान गरिरहेको छ ।

  सेमिनारको नाममा नेपालीलाई विदेश पठाएर उतै छाड्दा नेपालको छबि दिनप्रतिदिन गिरेको छ । त्यसो त नेपालमा बिदेशीहरू आएर सिधै रकम उठाइ ठग्न पछि परेका छैनन् । केही दिनअघि एफपी एजुकेशन कन्सलटेन्सीका सञ्चालक चन्टी लामाले विदेशी नागरिकले आफूहरूलाई ठगी गरेको भन्ने निवेदन अपराध महाशाखामा दिए । सञ्चालक लामा लगायत ११ जना विद्यार्थीलाई सहभागी गराई सेमिनार नै आयोजना गरेर आइइएलटिस विनै अष्ट्रेलिया पठाइदिन्छु भन्दै तीन जना विदेशी नागरिकले पटक–पटक गरी एक करोड २५ लाख रुपैयाँ ठगि गरेका थिए ।

  महाशाखाको अनुसन्धानपछि ठगीमा संलग्न तीन जनामध्ये मलेशियन नागरिक रामादास बास्कारादासलाई पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ । दुई जना मलेसियन र एक जना अष्ट्रेलियन नागरिकले गत माघ १४ गते चावहिलस्थित मेडिसन होटल ट्रेनिङ सेन्टरमा आई विभिन्न कन्सलटेन्सी तथा विद्यार्थीहरूलाई सहभागी गराएर सेमिनारको आयोजना गरी अष्ट्रेलियामा आफ्नै नाममा रहेको फ्युचर कलेजमा आइइएलटिएस विना नै अध्ययन गर्न पठाइदिने भन्दै ठगी गरेका थिए ।

  हप्तामा ६ दिन अन्य काम गर्दा हुने,कामको पूरै ग्यारेन्टी जस्ता लोभ देखाएर विद्यार्थी तथा कन्सलटेन्सीलाई विश्वासमा लिई प्रत्येक विद्यार्थीको नेपालस्थित बैंक खाताबाट अष्ट्रेलियन नागरिक रविन्द्रको खाता नं. ०१६४९९ मा रकम हाल्न लगाई अष्ट्रेलियाबाट झुठो कागजात तयार पारी ईमेलबाट सम्बन्धित विधार्थी तथा कन्सलटेन्सीलाई पठाइएको अनुसन्धानबाट खुलेको छ ।

   महाशाखाले ठगी गर्नेमध्येका रामदास भदौ २१ गते नेपाल आएको सूचना पाएपछि २२ गते नै प्रहरी टोली खटाइ उनलाई पक्राउ गरेको थियो । महाशाखा स्रोतका अनुसार सेमिनारका नाममा विदेशमा विद्यार्थीलाई पठाई ठगी गर्नेको जालो ठूलो रहेको र चाँडै नै उक्त जालो प्रहरी फन्दामा पर्दैछ ।यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ

प्रतिक्रिया

सम्बन्धित