निर्मला हत्यालाई राजनीतिक इस्यू बनाईयो, दोषी जो भएपनि कारबाही हुनुपर्छ : सांसद बस्नेत

mahesh

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद महेश बस्नेतले कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्त बलात्कार–हत्या प्रकरणलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राजनीतिको विषय बनाएको बताएका छन् । सरकारले गम्भीर अनुसन्धान गर्दा गर्दै पनि अनावश्यक उचाल्ने काम भएको भन्दै सांसद बस्नेतले मानवअधिकारकर्मी र पत्रकारहरुले समेत उक्त घटनालाई बेचीखाने विषय बनाएको आरोप लगाए ।

बुधबार प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँगको प्रश्नोत्तर सत्रमा बोल्दै सांसद बस्नेतले पन्त घटना प्रकरणलाई सरकारबाट अनुसन्धान भइरहेको अवस्थामा अनावश्यक रुपमा बद्नाम गराउनेहरुमाथि छानबिन गर्न सरकारलाई आग्रह गरे ।

पन्त हत्या घटनाको अनुुसन्धान भइरहँदा समेत राजनीतिक इस्यू बनाएर सरकारको बद्नाम गराउनेहरुमाथि अनुसन्धान केन्द्रीत हुनुपर्नेमा उनको जोड थियो । निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान प्रक्रिया निष्कर्षमा पुग्न लागेको बेला निलम्वित एसपी डिल्लीराज विष्टलगायतका दोषी प्रहरी अधिकारीहरुलाई कारबाही गर्नु पर्ने सांसद बस्नेतको जिकीर छ ।
यसैबीच गृहमन्त्री थापाले पन्तका हत्यारा बालुवाटार वा सिंहदरबार जहाँ रहे पनि नछाडिने बताए । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले हत्या प्रकरणमा सरकार गम्भीर भएर अनुसन्धान गरिरहेको हुँदा चाँडै निष्कर्षमा पुग्ने पनि उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित