जीप दुर्घटनामा परी ५ जनाको मृत्यु, सात घाइते

sindhuli

   काठमाडौं । सिन्धुलीको फिकल गाउँपालिका–२, चण्डी भञ्ज्याङमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने ७ जना घाइते छन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसारघाइते ३ जनाको अवस्था गम्भीर छ । बा१५च ९४२२ नम्बरको जीप सडकबाट करिब दुई सय मिटर तल खस्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइतेहरुको खुकोट अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ज्यान गुमाउनेहरुमा फिक्कल गाउँपालिका–२ का ५५ वर्षीया तीलमाया बिक, ६५ वर्षीय कुनमान तामाङ, ४० वर्षीया लक्ष्मी बिक, २५ वर्षीया अनिता महत र वडा नं। ३ की ३५ वर्षीया शान्तिमाया श्रेष्ठ रहेका छन्। दुर्घटनाका गम्भीर घाइतेहरु चालक मानबहादुर सुनुवार, गंगामाया बिक र दिपक श्रेष्ठलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।

यसअघि गएराति सिन्धुलीकै सुनकोशी गाउँपालिका–२ कमेरेफाँटमा जन्ती सवार बा ४ ख ९४३८ नम्बरको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो । रामेछापको खाँडादेवी गाउँपालिका १ कठोरेबाट काभ्रेको तिमालतर्फ बेहुली लिएर जाँदै गरेको टिपर दुर्घटना हुँदा तिमाल ९ की २२ वर्षीया कृष्णमाया माझी र १६ वर्षीया चुन्पाइ लामाको मृत्यु भएको प्रहरीले जनाएको छ । धुलिखेल अस्पतालमा उपचारका क्रममा दुवैको मृत्यु भएको हो ।

गम्भीर घाइते तिमाल गाउँपालिका ९ का १२ वर्षीय दिनेश तामाङ र निरज माझीसहित ९ जनालाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर ल्याइएको र सामान्य घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको समेत प्रहरीले जनाएको छ । टिपर चालक खड्क माझीलाई नियन्त्रणमा लिएर घटनाका बारेमा सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित