गाउँमा चुनाव लड्न किन डराए कांग्रेसका केन्द्रिय सदस्यहरु ?

nc office

   काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूबीच विवाद भएको छ। पार्टी कार्यालय सानेपामा सोमबार बसेको बैठकमा महासमिति बैठकका निर्णय र प्रतिबद्धताबाट सभापति शेरबहादुर देउवा पछि हट्न खोजेपछि विवाद भएको हो । केन्द्रीय सदस्य स्वतः क्षेत्रीय प्रतिनिधि हुने पुरानो विधानको व्यवस्था हटाएर बुथबाटै निर्वाचित भएर आउनुपर्ने व्यवस्था पार्टी विधानमा राख्नुपर्ने र राख्न नहुनेमा केन्द्रीय सदस्यबीच विवाद छ।

कांग्रेसमा महाधिवेशन प्रतिनिधि हुन केन्द्रीय सदस्यले चुनाव लड्नुपर्दैन। उनीहरू स्वतः क्षेत्रीय प्रतिनिधि हुन्छन्। क्षेत्रीय प्रतिनिधिबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन हुन्छन्। यो व्यवस्था हटाउनुपर्ने तथा हटाउन नहुनेमा कांग्रेस नेताहरू विभाजित छन्।

बैठकमा सहभागी एक नेताका अनुसार केन्द्रीय सदस्य गाउँबाट चुनिएर आउन डराएका छन्। अन्तरघात गरेर बुथबाटै हराइदिने भन्दै केन्द्रीय सदस्यहरू स्वतः क्षेत्रीय प्रतिनिधि हुने पुरानै व्यवस्थालाई सुरक्षित मान्दै यसैलाई संघीय विधानमा निरन्तरता दिनुपर्ने भन्दै ‘लबिङ’ मा लागेका छन् भने कतिपय ५० भन्दा बढी जिल्ला सभापतिले केन्द्रीय सदस्य स्वतः क्षेत्रीय प्रतिनिधि हुने विधानको व्यवस्था हटाएर चुनावबाट आउनुपर्ने व्यवस्था राख्न माग गर्दै हस्ताक्षर बुझाएका थिए। त्यस बेला सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिका मागमा आफू सकारात्मक रहेको भन्दै प्रतिबद्धता जनाएका थिए।

शीर्ष नेताहरूले आफूले गरेको प्रतिबद्धता र महासमिति बैठकका निर्णय एक महिनामै भुलेको भन्दै सोमबार बैठकमा नेतृत्वको आलोचना भएको हो ।

केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, दीलेन्द्रप्रसाद बडु, नवीन्द्रराज जोशी, प्रदीप पौडेलले केन्द्रीय नेता बुथबाटै निर्वाचित भएर आउनुपर्ने अडान लिए भने केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठ, मीन विश्वकर्मा र शंकर भण्डारीले भने केन्द्रीय सदस्य स्वतः क्षेत्रीय प्रतिनिधि हुने व्यवस्थाको पक्षमा वकालत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित