हनुमन्ते सफाइ अभियानको ५१ औँ हप्तामा प्रचण्ड र प्रकाशमानको उपस्थितिमा झण्डोत्तोलन

hanumante 51

     काठमाडौं । ‘उठौं, जागौं, हनुमन्ते नदी सफा गर्न लागौं’ भन्ने मूल नारासहित सुरु भएको भक्तपुरको हनुमन्ते नदी सफाई अभियानको ५१ औ हप्तामा विशेष कार्यक्रमको आयोजना गरिने भएको छ । हनुमन्ते नदी सफाई ५१ औ हप्ता मूल समारोह समितिले बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी देशकै नमूना बनेको भक्तपुरको हनुमन्ते नदि सफार्इ अभियानको ५१औँ हप्ता विशेष कार्यक्रमको आयोजना गरी सम्पन्न गर्न लागेको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा अभियानको ५१औं हप्ताको दिन फागुन ४ गते शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहकोको उपस्थिति रहने जनाइयो । सोही दिन प्रमुख अतिथि दाहालले भक्तपुरको सल्लाघारीमा झण्डोत्तोलन गरी सफाइ अभियानको उद्घाटन गर्ने भएका छन् ।

स्वच्छ, सुन्दर र हराभर भक्तपुर बनाउने उद्देश्यका साथ नेकपाका युवा नेता तथा प्रतिनिभिसभा सदस्य महेश बस्नेतको विशेष पहलमा शुरु भएको सफाई अभियानले उल्लेखनिय सफलता पाइसकेको छ । सामाजिक क्रियाकलापमा सक्रिय बस्नेतले हनुमन्ते नदि सफाई अभियानसँगै करिडोर निर्माण, अरनिको राजमार्ग केन्द्रित सफाई अभियान, भक्तपुरमा प्रस्तावित प्राणी उद्यान केन्द्र, सभाहल, स्टेडियम निर्माण तथा कोटेश्वरको जाम न्यूनिकरणका लागि विशेष पहल गर्दै आइरहेका छन् ।

hanumante_1
पत्रकार सम्मेलनमा बोल्दै सांसद बस्नेतले सफाई अभियानको झण्डै एक वर्षको यो अवधिमा अहिलेसम्म ७२ टन फोहोर उठाएको जानकारी गराउँदै विकासप्रतिको दृष्टिकोण नै परिवर्तन गर्न आवश्यक रहेको बताए । उनले भने–‘हामीले अब सरसफाई, सभ्यता, शिक्षाजस्ता विषयमा देशभरि अभियान नै चलाउनुपर्छ ।’ राज्यको बिना लगानी सफाई अभियानलाई ५१ औं हप्तासम्म पुर्याउन सफल भएको पनि दाबी गरे ।

बस्नेतले आफुहरुले सुरु गरेको अरनीको राजमार्ग सफाई अभियाने पनि छोटो समयमै सफलतातर्फ लम्किएको दावी गरे । पछिल्लो यो दुई महिनाको अवधिलाई हेर्ने हो भने अरनीको राजमार्गअन्तर्गत भक्तपुर सडक खण्डमा दुर्घट्ना कम भएको र कोटेश्वरको जाम पनि कम भएको दावी गरे ।

यही फागुन ४ गते बिहान ७ बजे मध्यपुर अस्पतालको दक्षिणतर्फ रहेको मध्यपुरथिमि र सूर्यविनायक नगरपालिकाको सिमानास्थित हनुमन्ते नदीको पुलबाट सफाइ अभियान सञ्चालन गर्नुका साथै राष्ट्रिय धावक बैकुण्ठ मानन्धरको नेतृत्वमा वाकाथुनसमेत हुने आयोजक मूल समितिले जनाएको छ ।

सफाई अभियानमा भक्तपुरका प्राय सबै जनप्रतिनिधिका साथसाथै स्थानीयबासी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीदेखि विद्यालय स्तरको पनि सहभागिता रहँदै आएको छ । त्यसैले पनि हनुमन्ते नदीको सफाई अभियान एउटा उदाहरणिय मात्र नभई एक आपसमा स्थानीय जनतासँग प्रतिनिधिससँगको सहकार्यको महत्वपूर्ण पक्षको रुपमा स्थापित भइसकेको छ ।

कार्यक्रममा सफाइ अभियानका संयोजक एवम् सूर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापा, हुनमन्ते नदी सफाई ५१ औं हप्ता तयारी मूल समारोह समितिका संयोजक मधु ढुंगेल, नवराज काफ्लेलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित