नुवाकोट बस दुर्घटनामा मृत्‍यु हुनेको संख्या सात पुग्यो

त्रिशूली  ।काठमाडौंबाट नुवाकोटको खरानीटार आउँदै गरेको बा १ ख ६३४८ नं को बस आज बिहान शिवपुरी गाउँपालिका–७ स्थित सुनखानीको ठानाभञ्ज्याङमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ ।

दुर्घटनामा परी विदुर नगरपालिका–९ का २१ वर्षीया शशी बोगटी, तादी गाउँपालिका–५ नर्जामण्डपका ४५ वर्षीया लक्ष्मी न्यौपाने र ६७ वर्षीया ठूलीमायाँ तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिनुभयो ।

बसका सहचालक तादी गापा सातबिसेका २८ वर्षीय नवराज विक, ठेगाना नखुलेका ५४ वर्षीय लालबहादुर तामाङ र ठेगाना नखुलेकी ३७ वर्षीया उजेली तामाङको उपचारका क्रममा बसुन्धरास्थित ग्रीनसिटी अस्पताल र तादी गापा रालुकाकी २२ वर्षीया सविना तामाङको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

साँघुरो र एकतर्फी सडकमा क्षमताभन्दा बढी यात्रु बोकेको र स्टेयरिङ नमोडिएर दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटनालगत्तै बसका चालक फरार रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित