भेनेजुएला र कोलम्बियाबीचको कूटनीतिक सम्बन्ध तोडियो

venejuilea

   काठमाडौं । भेनेजुयलाका विपक्षी कार्यकर्ताहरुले सरकारी नाकाबन्दीका बीच मानवीय सहायता भित्राउन खोज्दा सीमावर्ती शहरमा हिंसा भएको छ । हिंसाका बीच राष्ट्रपति निकोलस माधुरो नेतृत्वको सरकारले कोलम्बियासँग कुटनीतिक सम्बन्ध तोडेको छ ।

भेनेजुयलाका जनता औषधि र खाद्यान्न संकटमा मारमा परेको भन्दै अमेरिकालगायतका केही विदेशी राष्ट्रहरुले राहत सहयोग गर्न खोजेका छन् । राष्ट्रपति निकोलस माधुरोले सहयोग अस्वीकार गरे पनि विपक्षी दलका नेता जन गुइदोले राहत भित्राउनुपर्नेमा जोड दिँदै आएका छन् । यही क्रममा गुइदोका समर्थकहरुको प्रदर्शनको क्रममा हिंसात्मक झडप भएको हो ।

राष्ट्रपति माधुरोले सहायता सामाग्री भित्रिन नदिन कोलम्बियासँग जोडिएका सबै सिमाना आंशिक रुपमा बन्द गराएका छन् । उनले कोलम्बियासँगको कुटनीतिक सम्बन्ध पनि तोडेको घोषणा गरेका छन् ।

कोलम्बियाको प्रवासन एजेन्सीका अनुसार झडपको क्रममा भेनेजुयला नेशनल गार्डका केही जवानहरु सीमा क्षेत्रका चौकी छाडेर भागेका छन् । अर्कोतर्फ, कोलम्बियामा काम खोज्ने जानेहरुले सिमाना पार गर्न खोज्दा भेनेजुएलाका सैनिकहरुले अश्रुग्यास प्रहार गरेका छन् ।

शुक्रबार ब्राजिलको सिमाना नजिक भेनेजुयलाका सुरक्षाकर्मीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको थियो । शनिबार थप दुई जना मारिएको अपुष्ट खबर आएको छ ।

आफूले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका र अमेरिकाको समर्थन पाएका विपक्षी नेता गुइदोले लाखौं स्वयंसेवकहरुले मानवीय सहायता पुर्‍याउन मद्दत गर्ने बताउँदै आएका छन् । उनले ट्वीट गरेर सहायताको पहिलो खेप ब्राजिलको बाटो हुँदै भेनेजुयला नजिक आइसकेको जानकारी दिएका छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित