अधिकारीको निधनपछि प्रधानमन्त्रीले भने ‘उनी निर्दोष थिए’

kp sharma

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबडी खरिद प्रक्रियामा रविन्द्र अधिकारीलाई आरोप लगाउनु दुःखद भएको बताएका छन् । हेलिकप्टर दुर्घटनामा निधन भएका अधिकारीको शोक प्रस्ताव पारित गर्न शुक्रबार बसेको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले वाइडबडीबारे बोल्दै अधिकारी निर्दोष रहेको बताएका हुन् ।

‘मलाई दुःख लाग्छ कि उहाँ जस्तो कर्मठ, क्रियाशील मानिसलाई अनुचित ढंगले त्यस प्रकारले आरोप लाञ्छनाहरु लगाउने र अपमान गर्ने काम पनि भयो ।’ प्रधानमन्त्री ओलीले भने–‘यतिबेला अरु धेरै कुरा त केही भन्न चाहन्न । तर, अत्यन्तै अनुचित ढंगले उहाँको कुनै सरोकार नभएको बिषय वाइबडीको सन्दर्भमा जोडेर केही तत्वहरुले उहाँलाई बद्नाम गर्न खोजे । जो सम्पूर्ण रुपमा निराधार कुरा हो ।’

तेह्रथुमको चुहानडाँडामा विमानस्थल बनाउन उपयुक्त हुने प्राविधिक प्रतिवेदन आएपछि आफैँले हेरेर आउने भनेर मन्त्री अधिकारी त्यसतर्फ गएको भन्दै प्रधानमन्त्री ओली भने–‘ढिलोमा तीन बर्षभित्र त्यो ठाउँमा विमानस्थल निर्माण गरिसक्ने मन्त्री अधिकारीको लक्ष्य रहेको थियो । हिजो वहाँ बर्लिन जर्मनीतर्फ उड्दै हुनुहुन्थ्यो । त्यहाँ जानुको अर्थ पनि थियो कि म्यूनिख एयरपोर्टसँग सिस्टर सम्बन्ध बनाउने, व्यवस्थित ढंगको एयरर्पोट ह्याण्डिलिङ बनाउने योजना थियो ।’

अधिकारीको निधनले पार्टी, सरकार र देशले एक कुशल नेता, मन्त्री र नागरिक गुमाएको उनले बताए । नेकपा संसदीय दलको बैठकले दुर्घटनामा निधन भएकाहरुप्रति शोक प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित