महाशिवरात्रि पर्व मनाईंदै, देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो

shivaratri

      काठमाडौं । आज फागुन कृष्ण चतुर्दशी अर्थात महाशिवरात्रि पर्व । आजका दिन आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी देशभर महाशिवरात्रि पर्व मनाइँदैछ । आज शिव मन्दिरहरुमा हिन्दू धर्मावलम्बीहरुको ठूलो भिड लागेको छ । पशुपतिनाथ मन्दिरमा त झन धर्मावलम्बीहरुको ठूलो भिड लागेको छ । दर्शनार्थीहरुको भिडलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले पशुपति क्षेत्रमा गुड्ने सवारी साधानहरुलाई वैकल्पिक बाटो निर्धारण गरी गन्तव्यमा पुर्याउने उपाय अपनाएको छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गरिरहेका छन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेख छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । माघमा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्वले गर्दा पलाउन थाल्ने हुनाले फागुनमा शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।

व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ । राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ ।

भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ । यस वर्ष प्रयागराजमा भएको कुम्भ मेलाका दर्शनार्थीमध्ये केही पशुपतिनाथ मन्दिरमा पनि आएकाले एक साता अघिदेखि नै साधुसन्त लगायत भक्तजनको भीड बढेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

shiva

शिवरात्रिमा धुनी जगाउन र पशुपतिको दर्शन गर्नका लागि विभिन्न ठाउँबाट साधुहरू काठमाडौं आएका हुन्।अनुहारमा चन्दन, अबीर लगाउने, खरानी धस्ने, त्रिशुल बोक्ने, गाजा खाने बाबाहरको विशेषतानै हो । बाबाहरु शिवरात्रीमा गाँजालाई ‘प्रसाद’का रुपमा प्रयोग गर्छन्।

प्रतिक्रिया

सम्बन्धित