संसद सचिवालयमा नेम्वाङको हालीमुहाली

subash-nembang

 काठमाडौं । संसद सचिवालयमा आफूसँग मतभेद राख्ने कर्मचारीहरूलाई अघोषित कारबाही गर्न थालिएको छ । विशेष गरेर पूर्वएमाले पृष्ठभूमि भएका कर्मचारीहरूले संसद सचिवालयमा हालिमुहाली गरेका छन् । पूर्वसभामुख एवम् सत्तारुढ नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले अहिले पनि संसद सचिवालयमा हस्तक्षेप गर्दै आएका छन् । नेम्वाङले आफूलाई देखाउँदैनन् ।

 तर, खटनपटन सबै नेम्वाङकै निर्देशनमा संसद सचिवालयमा गतिविधि हुने गरेका छन् ।
एमाले पृष्ठभूमि भएका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र सचिव राजेन्द्र फुयाँलले संसद सचिवालयलाई आफ्नो कब्जामा राखेका छन् । नेम्वाङका साथ पाएका अध्यक्ष तिमिल्सिना र सचिव फुयाँलले संसद सचिवालयको राम्रा शाखाहरूमा आफू निकटका र पूर्वएमाले पृष्ठभूमि भएका कर्मचारीहरूलाई सरुवा गरेर राखेका छन् ।

 स्रोतका अनुसार राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र सचिव फुयाँलले संसद सचिवालयको सवारी शाखामा कान्छा दुलाललाई सरुवा गरेका छन् । यसअघि यो शाखामा नेत्र कार्की थिए । कान्छा दुलाल पूर्वएमाले पृष्ठभूमि भएका कर्मचारी हुन् ।
संसद सचिवालयको कर्मचारी प्रशासन शाखामा पूर्वएमाले पृष्ठभूमि भएका अधिराज राईलाई सरुवा गरिएको छ । अधिराज राई नेकपाका नेता सुवासचन्द्र नेम्वाङसँग निकट रहेका कर्मचारी हुन् । यसअघि यो शाखामा निदेश आचार्य थिए । स्टोर शाखाका विनोदकुमार मालीलाई हटाएर पूर्वएमाले निकटका गोविन्द गौतमलाई लगिएको छ ।

 गौतम र सचिव फुयाँलका बीच राम्रो सम्बन्ध छ । संसद सचिवालयमा यी तीन वटा शाखालाई ‘भन्सार’का रुपमा लिइन्छ । कर्मचारीहरूले यी शाखाहरूमा जान मरिहत्ते नै गर्छन् । सवारी शाखाले नयाँ गाडी खरिददेखि मर्मत सम्भारलगायतका सबै कार्य गर्छ । गाडी खरिद र मर्मतका नाममा मोटो रकम कमिशन पाइने भएपछि उच्च व्यक्ति र कर्मचारीहरूको यो शाखामा आँखा पर्ने गरेको छ ।
स्टोर शाखामा पनि आफू निकटका कर्मचारी राख्न पाइयो भने हरेक सुविधा लिन सजिलो हुन्छ ।

 यो शाखामा पनि सामान खरिदमा राम्रो कमिशन आउँछ । कमिशन आउने भएपछि यहाँ जान पनि ठूलै चलखेल गर्छन् । संसद सचिवालयमा कर्मचारी प्रशासन शाखालाई पनि अत्यन्तै राम्रो शाखा मानिन्छ । आफू निकटका कर्मचारीलाई राम्रो ठाउँमा र आफूसँग मतभेद राख्नेलाई त्यस्तै ठाउँमा ठेगान लगाउने शाखाका रुपमा लिइन्छ ।

 पूर्व माओवादी नेता कृष्णबहादुर महरा सभामुख भएपनि शाखाहरूको खासै महत्व बुझेका छैनन् । महत्व नबुझेकै कारण उनले आफू निकटका कर्मचारीलाई ती शाखाहरूमा लैजान चासो देखाएनन् । महत्व बुझेका राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र सचिव फुँयालले आफू निकटका कर्मचारीलाई ती राम्रा शाखामा लगेर राखे ।

संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई पनि सभामुख महरासँग भन्दा पूर्वएमाले पृष्ठभूमि भएकाहरूसँग डराउँछन् । पूर्वसभामुख नेम्वाङभन्दा महरा काम गर्नका लागि सजिलो छन् । महरा र भट्टराईको कमजोरीको फाइदा उठाएर राष्ट्रिय सभाका अध्यक्ष र सचिवले संसद सचिवालयमा आफ्नो कब्जामा लिएका हुन् । राष्ट्रिय सभाका सचिव फुयाँल अमेरिकनहरूसँग निकट मानिन्छन् । अमेरिकन आइएनजिओ र एनजिओहरूसँग फुयाँलको निकटता रहेको स्रोतको भनाइ छ । अहिले पनि बेलाबेला अमेरिकन आइएनजिओसँग सचिव फुयाँल देखिने गर्छन् ।

 

प्रतिक्रिया

सम्बन्धित