मधेसमा नेकपाको पहिलो जनसभा, ओली, प्रचण्ड र सिके राउतको सम्बोधन

kp, ck and prachanda

   काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मधेशमा पहिलो पटक जनसभा गर्ने भएको छ । यो जनसभालाई महत्वपूर्ण रुपमा लिइएको छ । नेकपाको तल्ला कमिटीहरु एकीकरण प्रक्रिया अन्यौलमा परिरहेका बेला मधेशमा आयोजना हुन लागेको जनसभाले ठूलो अर्थ राख्ने राजनीतिविद्हरुको बुझाई छ । आजको जनसभालाई यस अर्थमा पनि महत्वपूर्ण रुपमा हेरिएको छ कि नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै हिजो मात्रै जेलमुक्त भएका सिके राउतको पनि सम्बोधन हुने भएको छ ।

पार्टी एकता र मधेस मुद्दामा नेकपाको सन्देश जनतालाई दिनका लागि २ नम्बर प्रदेश कमिटीले रौतहटमा जनसभा गर्न लागेको बताए पनि देशद्रोही मुद्दा लागेको सिके राउतलाई समेत एउटै मञ्चमा राखेर सम्बोधन गर्न दिने नेकपाको नियतमाथि ठूलो प्रश्न चिन्ह समेत खडा भएको छ ।

जनसभामा २ नम्बर प्रदेशका आठै जिल्लाबाट एक लाख जनता उतार्ने तयारी भइरहेको छ । संविधान जारी भएदेखि पार्टीले मधेसमा एउटा पनि राजनीतिक वैचारिक सभा प्रदेशस्तरमा गर्न नसकेकाले प्रदेश कमिटीले यसपटक ठूलो जनसहभागितामा पार्टीको सन्देश प्रवाह गर्न खोजेको नेकपाको भनाई छ ।

पछिल्लो समय नेकपाको पार्टी एकता कार्यदलसमेत भंग भएपछि तल्ला कमिटी र जनवर्गीय संगठनहरुको एकीकरण अन्यौलमा परेको छ । यसबीचमा सचिवालय बैठक बोलाउन नेताहरुले आग्रह गरिरहेका बेला अध्यक्षद्वय ओली र प्रचण्ड जनसभामा निस्कन लागेका हुन् ।

यता, राज्य विप्लवको आरोप लागेको स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतलाई रिहा गर्न सर्वोच्च अदालतले बिहीबार आदेश दिएको छ । जिल्ला अदालत रौतहटको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका राउतलाई सर्वोच्चले तारेखमा रिहा गर्न आदेश दिएको हो ।

राउतलाई गैरकानूनी ढंगले थुनिएको भन्दै परेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले सो आदेश दिएको हो । प्रहरीले सिके राउतलाई गत असोज २१ गते राज्य विप्लवको अभियोगमा पक्राउ गरेको थियो। मंसिर २० मा राउतलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत रौतहटले नै आदेश दिएको थियो।

त्यसपछी जिल्लाको आदेशविरूद्ध राउतले उच्च अदालत जनकपुरको वीरगञ्जमा पुनरावेदन दिएका थिए। पुनरावेदनले पनि जिल्ला अदालतको आदेश सदर गरिदिएको थियो। अन्ततः उनी सर्वोच्च पुग्दै रिहा भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित