लिग लिडर बार्सिलोनाद्धारा भालेकानो पराजित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलको लिग लिडर बार्सिलोनाले रायो भालेकानोलाई पराजित गरेको छ । शनिबार राति आफ्नै मैदानमा भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी, लुइस स्वारेज र जिरार्ड पिकेले गोल गरे । यता, रायो भालेकानोका लागि भने टोमस गोमेजले गोल गरेका थिए ।

आफ्नो सुरुवाती अग्रतालाई जोगाउन नसक्दा रायो भालेकानोले हार ब्यहोरेको हो । २४औं मिनेटमा नै गोमेजले गोल गर्दै रायोलाई अग्रता दिलाएका थिए । तर ३८औं मिनेटमा पिकेले गोल गर्दै खेलमा १–१ गोलको बराबरी ल्याएका थिए ।

५१औं मिनेटमा कप्तान मेस्सीले पेनाल्टीबाट गोल गर्दै बार्सिलोनालाई २–१ गोलको अग्रता दिलाए । त्यस्तै, खेलको ८२औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई ३–१ गोलको जित दिलाए । जितसँगै बार्सिलोनाको २७ खेलबाट ६३ अंक भएको छ ।

प्रतिक्रिया

सम्बन्धित