मस्त निद्रामा रहेका चिनियाँ सुन तस्कर र्‍याडिसन होटेलबाट कसरी भए फरार ?

काडमाडौं । प्रहरीले आइतबार बिहान ८८ किलो अवैध सुन नियन्त्रणमा लिइरहँदा चिनियाँ तस्कर वान विई मिङ पाँचेतारे होटल र्‍याडिसनमा मस्त निद्रामा थिए । इतिहासमै सबैभन्दा ठूलो परिमाणमा सुन बरामद भएको खबरले बजार तातिसक्दा बिहान १० बजे उनी आरामपूर्वक होटलबाट बाहिरिँदै फरार भए । होटल स्रोतका अनुसार बाहिरैबाट रुम बुक गरी साँझ अबेर होटल आएका उनले आफ्नो पासपोर्ट देखाएनन् । बरु नेपाली लाइसेन्स राख्न खोजे । रिसेप्सनिस्टले लाइसेन्सले नहुने भनेपछि उनले आफ्नो पासपोर्ट अध्यागमन विभागमा छाडेको हुनाले सोमबार बिहान चेक आउट हुनेबेलासम्म ल्याउने भनी आश्वस्त गराए ।

 हालसालै जागिर खाएकी रिसेप्सनिस्टले त्यो कुरा पत्याइन् । तर, भोलिपल्ट बिहान निस्केको उनी फर्केनन् । बरु केही घन्टामा प्रहरीको टोली आएर सोधखोज गर्न थाल्यो र सुन तस्करले आफू जोगिन होटल प्रयोग गरेको थाहा लाग्यो । 'यो घटना अनपेक्षित हो ।अन्नपूर्णमा खबर छ । तत्काल मिटिङ राखेर हामी स्टाफलाई यस्ता घटना हुन सक्नेप्रति सचेत गरायौं,' होटलका एक कर्मचारीले अन्नपूर्णसँग भने । महानगरीय प्रहरी महाशाखाले र्‍याडिसनमै भेटिएको चिनियाँ तस्करको नेपाली लाइसेन्सका आधारमा तत्काल अनुसन्धान अगाडि बढायो । उक्त लाइसेन्स यातायात व्यवस्था विभागबाट जारी भएको देखिए पनि त्यसका लागि चिनियाँले आफ्नो पासपोर्टको प्रतिलिपिसमेत नराखेको (वा गायव पारिएको) पत्ता लागेको छ । विभागको रेकर्डमा सवारी अनुमतिपत्र वाहकको उल्लिखित नामबाहेक ठेगाना चीन, हुलिया आँखा चिम्सा भन्ने मात्र उल्लेख भएको प्रहरीको भनाइ छ ।

विदेशी नागरिकको पासपोर्टको प्रतिलिपिसमेत नराखी कसरी लाइसेन्स दिइयो भन्नेमा अहिलेसम्म अनुसन्धान सुरु हुन सकेको छैन ।उच्च प्रहरी स्रोतका अनुसार मिङको एउटा मोबाइल नम्बर होटलबाट बाहिरिँदासम्म चालू नै थियो । प्रहरीको बुझाइमा उनले आफूलाई सुरक्षित राख्नका लागि कसैबाट निरन्तर जानकारी लिइराख्न एउटा मोबाइल नम्बरलाई त्यतिखेरसम्म चालु राखेका हुन् ।

  उनले तत्काल निरन्तर सम्पर्कमा रहने आफ्नै स्वामित्वमा रहेको ठमेलस्थित काठमाडौं वान होटलका कर्मचारीलाई फेसबुक, विच्याटबाट समेत अनफ्रेन्ड गरे । उनी होटलबाट निस्केको केहीबरेमै आफूहरू पुग्दा अनुसन्धान टोलीलाई थकथक भएको एक जानकार स्रोतले भन्यो ।मिङले आफू होटलमा सुतेर पत्नी याङ वेन विङलाई चाहिँ कहाँ राखेका थिए भन्ने खुलेको छैन । दुवै फरारको खोजीमा प्रहरीले निरन्तर प्रयास गरेको छ । अनुसन्धानकर्ताले आशंकित नम्बरको कल रेकर्ड अध्ययनका साथै सम्भाव्य ठाउँमा निगरानी र तलासीको क्रम जारी राखेका छन् । यकिन तथ्य हात पार्न नसक्दा प्रहरीलाई अनुसन्धान चुनौतीपूर्ण बन्दै गएको छ । साथै, ठूलो परिमाणमा सुन बरामद हुँदा जस लिने होड प्रहरीका विभिन्न निकायबीच चल्दा प्रवाहित सूचना बाझिएका छन् । सुराकदेखि बरामदसम्मको सम्पूर्ण प्रक्रियामा बाजी मारेको महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित