जन्ती बोकेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १७ जना घाइते

janti bus

   काठमाडौं । मकवानपुरमा जन्तीबस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । भक्तपुरबाट जन्ती बोकेर हेटौंडातर्फ जाँदै गरेको बा४ख २२१७ नम्बरको बस कान्तिलोक मार्ग अन्तर्गत मकवानपुरको गढी गाउँपालिका २ चैनपुर डाँडामा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा काभ्रे ज्याम्दी घर भई भक्तपुर बस्ने ३० वर्षका नवराज परियार र नुवाकोट घर भई बालाजु बस्ने २१ वर्षका विकास धमला रहेका छन् ।

तीनवटा जन्तीबसमध्ये पछाडिको बस दुर्घटनामा परेको जनाइएको छ । दुर्घटना भएको बसमा २८ जना सवार थिए । दुर्घटनामा बेहुला चढेको गाडी भने सुरक्षित रहेको छ ।

घाइते १७ जनामध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि हेटौंडाको हेटौंडा अस्पताल र चुरे हिल अस्पताल लगिएको छ । बस सडकबाट २० मिटर तल खसेर रुखमा अड्किएको छ । दुर्घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट डीएसपी यज्ञप्रसाद भट्टराईसहितको टोली घटनास्थल पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित