प्रहरीमा ३० बर्षे हटाएर जागिर लम्ब्याउने खेल

काठमाडौं । नेपाल प्रहरीमा फेरि आईजीपीको दौड सुरु भएको छ । गृहमन्त्रालयले संसदको चुनावअघि नै प्रदेशहरुमा कानुनी अधिकारसहित सबै प्रदेशमा आईजीपी खटाउने तयारी गरेपछि एआईजीहरु आईजीपी बन्ने चलखेलमा लागेका छन् ।

 गृहमन्त्री जनार्दन शर्माले मंसिरमा हुने निर्वाचन अगाडि नै सबै प्रदेशमा आईजीपीहरु नियुक्त गरिने बताएका छन् । गृहले केन्द्रीय प्रहरी प्रमुखमा महानिर्देशक तथा प्रदेशमा प्रहरी महानिरीक्षक नियुक्तिको तयारी गरेको छ । यसअघि प्रदेशमा एआईजी नै राख्ने तयारी थियो । तर, गृहले आईजीपी नै खटाउने तयारी गरेको छ । हाल नेपाल प्रहरीमा ११ जना एआईजी छन् । तर, प्रदेशमा सात जनामात्र आईजीपी हुने भएकाले अहिलेदेखि नै एआईजीहरु दौडधुपमा लागिसकेका छन् । सरकारले कानुनबिना नै सात एआईजीलाई प्रदेश इन्चार्ज बनाएर खटाइसकेको छ । उनीहरुलाई त्यही प्रदेशमा आईजीपी हुने रहर छ ।

 प्रदेशमा खटिएकाहरु सोही प्रदेशको आईजीपी हुन चाहेका छन् भने मेट्रोमा रहेका जयबहादुर चन्द, प्रहरी एकेडेमीका देवेन्द्र सुवेदी तथा मुख्यालयका बमबहादुर भण्डारी र माधव जोशी पनि आईजीपी हुने खेलमा छन् । त्यतिमात्र होइन ३० वर्षे सेवा हद हटाउन पनि प्रहरीमा दुई समूहबीच ठूलै संघर्ष पर्ने देखिएको छ । अहिलेका एआईजीहरु पैसा र पावरका हिसाबले निकै अगाडि छन् । उनीहरु जसरी पनि आफ्नै कार्यकालमा ३० बर्षे हटाएर आफ्नो जागिर लम्ब्याउने पक्षमा छन् ।

 तर, उनीहरुको जागिर लम्बिदा चैत अन्तिमदेखि आईजीपी हुने दौडमा रहेका डीआईजीहरु सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्कीलाई धक्का पुग्नेछ । जसकारण दुई ब्याचबीच ३० वर्षे सेवाहदको विषयमा विवाद बढ्दै गएको छ । स्रोतका अनुसार माओवादी अध्यक्ष प्रचण्डले बैशाखपछि मात्र सेवाहद हटाउने प्रावधान लागू गर्न गृहमन्त्री शर्मालाई निर्देशन दिएका थिए । तर, एआईजीहरुले प्रधामन्त्रीदेखि गृहमन्त्रीसम्मलाई बैशाखअगाडि नै ३० वर्षे सेवाहदको प्रँवधान हटाउन लबिङ गर्दै आएका छन् । एआईजी केशरीराज घिमिरेको माओवादी अध्यक्ष प्रचण्डसँग बिशेष सम्बन्ध छ ।  प्रचण्डकै पावरका कारण उनी कार्यक्षमतामा कमजोर भएपनि एआईजी बढुवा भएर तीन नम्बर प्रदेशको इन्चार्ज हुने अवसर पाए । मेट्रोका जयबहादुर चन्द तथा प्रदेशमा खटिएका अन्य एआईजीहरुको पनि राजनीतिक सम्बन्ध बलियो भएकाले उनीहरुले आफ्नो पक्षमा निर्णय गराउने चिन्ता पछिल्लो पुस्तालाई छ । यही बेला नेपाल प्रहरीमा भने आईजीपी प्रकाश अर्याललाई हटाएर नयाँ व्यक्तिलाई महानिर्देशक बनाउने खेलको समेत प्रहरीमा चर्चा बढेको छ ।  दृष्‍टिन्युजबाट

प्रतिक्रिया

सम्बन्धित