क्षेत्रपाटीबाट बरामद भएको ८८ किलो सुन कसको ?

एआईजी भन्छन्–‘अनुसन्धान भइरहेको छ, तथ्य बाहिर आउँछ’ काठमाडौं : प्रहरीले हलसम्मकै सबैभन्दा बढि परिमाणको अवैध सुन बरामद गरेको छ । प्रहरीले आज विहान काठमाडौंको क्षेत्रपाटीबाट अवैध रुपमा ल्याइएको ८८ किलो सुन बरामद गरेको हो । महानगरीय प्रहरी आयुक्त जयबहादुर चन्दका अनुसार महानगरीय अपराध महाशाखाको टोलीले ८८ किलो सुनसहित गाडी र चालकलाई नियन्त्रणमा लिएको हो । प्रहरीले उक्त सुन चिनियाँ नागरिकको भएको आशंका गरेको भएपनि पुष्टि भने हुन सकेको छैन । राति दुई बजेतिर प्रहरीले उक्त सुनसहितको गाडी पक्राउ गरेको हो । बा १७ च ६४२७ नम्बरको टाटा सफारीमा लुकाइ राखिएको सुन बरामद गरिएको प्रहरीले जनाएको छ । चालक मकवानपुरका मनोज अधिकारी भएको प्रहरीले जानकारी दिएको छ । गाडी पार्किङ गर्ने स्थानमा सुन रहेको सूचना पाएपछि प्रहरीले गएराति १० बजेदेखि नै निगरानी राखेको थियो । सोमबार बिहान चालक आएर गाडी स्टार्ट गर्नासाथ प्रहरी पुगेर नियन्त्रणमा लिएको थियो । गाडीबाट ८८ किलो सुन बरामद भएको र गाडी चालक मनोज अधिकारीलाई नियन्त्रणमा लिएको एआईजी चन्दले जानकारी दिए । भन्सार छली गरेर ल्याइएको सुनमध्ये यसरी पक्राउ गरिएको यो सबैभन्दा धेरै हो । यसअघि अघिल्लो सातामात्रै १५ किलो सुन पक्राउ गरिएको थियो । एआईजी चन्दले यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् । यतिबेला सुनको मूल्य लगभग ५६ हजार छ । त्यसैलाई आधार मान्ने हो भने पनि ४१ करोड ३८ लाख ५२ हजार पर्न आउँछ ।

प्रतिक्रिया

सम्बन्धित