स्वास्थ्यमन्त्रीज्यू हामीले उपचार कहिले पाउँछौं ?

बाँके : राप्ती सोनारी गाउँपालिका ६ की कुकुरी थारूलाई हनहनी ज्वरो आएको दुई हप्ता बितिसक्यो । न औषधि छ न, घरमा खानेकुरा । घरमा उनीमात्रै होइन, आठैजनाको परिवार सबै बिरामी परेका छन् । कसैलाई खोकीले सताएको छ, कसैलाई ज्वरो आएको छ अनि कसैको शरीर चिलाउने रोग छ । केही दिनअघि राप्तीमा आएको बाढीले उनको घर बगायो । सरकारले राहत भन्दै सात दिनपछि ४० किलो चामल दिएको थियो । त्यो पनि सकियो छ । एउटा त्रिपाल टाँगेर अहिले उनीहरू त्यसैमा दिन काटिरहेका छन् । उनीमात्रै होइन, बाढी प्रभावित क्षेत्रका सबैजसो पीडितलाई अहिले भाइरल ज्वरो अनि रुघाखोकी र शरीर चिलाउने रोगले सताउन थालेको छ । बाढी पसेपछि गाउँभरिका धारामा पानी आउन छाडेको छ । ह्यान्ड पाइप बगाएको छ भने बाढीले हिलोमा डुबाइदिएको छ । अहिले जताततै पिउने पानीको अभाव छ । दूषित पानीको प्रयोग अनि बाढीमा पुरिएर मरेका पशुपक्षीको दुर्घन्धका कारण अहिले प्रभावित बस्तीमा संक्रमण फैलिन थालेको स्वास्थ्यकर्मी बताउँछन् । राप्ती सोनारी ७ ढलैयाकी रकजकुमारी चौधरीको पनि ब्यथा उस्तै छ । गाउँमा भएका स्वास्थ्यचौकीमा पर्याप्त औषधि छैन । समयमै उपचार पाउन उनीजस्ता सबैजसो बिरामीलाई उत्तिकै सास्ती छ । बाढीले गाउँभरिको बाटो अनि पुल भत्काइदिएपछि यातायात सहज तरिकाले चल्न सकेको छैन । ‘घरमा सबै बिरामी छन्, बाढीले घरसँगै सबै अनाज पनि बगायो, खाने केही छैनु, उनी भन्छिन्, ‘छिमेकीले खान दिइरहेका छन्, सरसापट गरेर औषधि गर्‍यो, सन्चो हुँदैन ।ु ६ महिनाको बच्चा रुन थालेको धेरै दिन भइसकेको थियो । सीता परियारले बच्चा फकाउन धेरै कोसिस गरिन् तर केही उपाय लागेन । बिहीबार फत्तेपुरमा नेपाली कांग्रेसले राखेको स्वास्थ्य शिविरमा बच्चा जँचाउन आएकी सीताले भनिन्–‘निमोनिया भइसकेको रहेछ, धेरै दिनदेखि रोइरहेकी थिई ।’ बाढी पसेको घर अझैँ ओभाएको छैन । भित्ता अनि भुइँ अझैँ चिसै छन् । भत्किएको घर माटोले टालेर उनले बस्न मिल्ने त बनाएकी छन् तर चिसो भुइँको सुताइ अनि खानपान नमिल्दा उनी ज्वरोले थलिएकी छन् । ‘सबै अन्नपात बगायो, घर पनि आधा बगायो, बचेको अन्न पनि अहिले त उम्रेको छ, त्यो कसरी खानु ?’ सीताले भनिन्–‘सरकारले पठाएको भनेर चामल दिएका थिए, त्यो कति दिन पुग्छ र ?’ बाढी प्रभावित क्षेत्रमा धेरै बिरामीको संक्रमण बढ्न थालेपछि गाउँमा स्वास्थ्य शिविर राखिएको कांग्रेस क्षेत्र नं। १ का सभापति माधवराम खत्रीले जानकारी दिए । उनका अनुसार सबैजसो बाढी प्रभावितलाई अहिले ज्वरोको प्रकोपले सताएको छ । स्वास्थ्य शिविरमा बाढीपीडितको स्वास्थ्य जाँच तथा निःशुल्क औषधि वितरण गरिएको समाचार आजको अन्नपूर्ण पोष्टमा छ ।

प्रतिक्रिया

सम्बन्धित