एसइईको प्रश्नपत्र आउट गर्ने सार्वजनिक, प्रहरी र शिक्षक मिलेर एक हजारमै किनबेच

see question out

 काठमाडौं । प्रहरीले प्रदेश २ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

शिक्षा मन्त्रालयको आग्रहमा प्रश्नपत्र आउट प्रकरणको छानविन गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले पक्राउ गरेका ६ जनालाई बिहीबार सार्वजनिक गरेको हो । सीआईबी र दुई नं. प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय, सप्तरीमा संयुक्त पत्रकार सम्मेलन गरेर आरोपित दुई प्रहरी अधिकारीसहित ६ जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्ने प्रहरी अधिकारीमा सप्तरीको राजविराज–१० का ब्रम्हदेव सुनरैत र कञ्चनरुप–६ का दिपेन्द्रकुमार मण्डल छन् । उनीहरु इलाका प्रहरी कार्यालय, कल्याणपुरमा कार्यरत् थिए ।
त्यसैगरी पक्राउ पर्ने अन्यमा सप्तरीको राजविराज–१० घर भएका विष्णुदेव यादव, राजविराज–१६ का शिक्षक मनोज यादव, सप्तरीको हनुमाननगर कंकालिनी–१ का १७ वर्षीय राजेश यादव र सोही ठाउँका १७ वर्षीय उमेश यादव रहेका छन् ।

यस्तो थियो घटना विवरण
प्रहरीका अनुसार प्रदेश २ मा जारी एसईई परिक्षाको तेस्रो र चौथो दिन विज्ञान र सामाजिक शिक्षा विषयको प्रश्नपत्र ब्रम्हदेव सुनरैतमार्फत आउट भएको थियो । उनले प्रश्नपत्र राखिएको स्थानबाट निकालेर फोटो खिची दाइ विष्णुदेव यादवलाई पठाएका थिए भने यादवले सामाजिक सञ्जालमार्फत मनोजलाई प्रश्नपत्रको फोटो पठाएका थिए । र, मनोजबाट उमेश हुँदै अन्य व्यक्तिसम्म प्रश्नपत्र पुगेको थियो ।

question out

प्रहरीको अनुसन्धानमा प्रश्नपत्र दिंदा एक हजार रुपैयाँदेखि ४ हजार रुपैयाँसम्म लेनदेन भएको छ । उनीहरुबाट बरामद मोबाइलको प्राविधिक विश्लेषण भइरहेको प्रहरीको भनाइ छ ।

लगातार दुई वटा विषयको प्रश्नपत्र परीक्षा अगावै प्रश्नपत्र सार्वजनिक भएपछि शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले १५ चैतमा साँझ पत्रकार सम्मेलन गरेर परीक्षा स्थगित भएको घोषणा गरेका थिए ।

त्यसवेलै उनले घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई आग्रह गरेका थिए । त्यसपछ ब्युरोले डीएसपी निरञ्जन भट्टको नेतृत्वका अनुसन्धान टोली खटाएको थियो ।

यता परीक्षा नियन्त्रण कार्यालयले भने परीक्षा बोर्डकी सदस्य प्राध्यापक अमुदा श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । स्थागित परीक्षा भोली (शुक्रबार) बाट सुरु हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित