सुर्तीजन्य पदार्थ प्रयोगमा निषेध

Pradesh -1
विराटनगर ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयले विश्व स्वास्थ्य दिवसको अवसरमा आइतबारदेखि मन्त्रालय र मातहतका कार्यालयका सेवाग्राही र कर्मचारीलाई कार्यालय परिसरमा सुर्तीजन्य पदार्थ बोक्न र प्रयोग गर्न निषेध गरेको छ। समाजिक विकासमन्त्री जीवन घिमिरेले मन्त्रालय परिसरमा सुर्तीजन्य पदार्थ निषेध गरेको घोषणा गरेका हुन्। सरकारले चुरोट, बिँडी, सिगार, तमाखु, हुक्का, सुल्फा, कच्चा सुर्ती, खैनी, गुट्खालगायतका सुर्तीजन्य पदार्थ सेवन गर्न र बोक्न निषेध गरिएको हो। मन्त्रालय प्राङ्गणको मुलढोकामा सुरक्षागार्डले मन्त्रालय आउने सेवाग्राही र कर्मचारीको सुर्तीजन्य पदार्थ जाँच गरी सुर्ती फाल्न गेटमा डस्टबिनको व्यवस्था गरिएको छ। मन्त्रालायले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन, २०६८ को प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले आइतबारदेखि यसको प्रभावकारी थालनी गरिएको जनाएको छ।

मन्त्रालयमा आउने व्यक्तिको साथमा सुर्तीजन्य पदार्थ फेला परे मन्त्रालयमा लैजान नदिनुका साथै यस्ता पदार्थ भेटिएमा मन्त्रालयको गेटमै फाल्ने व्यवस्था मिलाइएको मन्त्रालयका प्रवक्ता गोपी घिमिरेले बताए। मन्त्रालयभित्र त्यस्तो पदार्थ साथमा भेटिए नियमअनुसार कारवाही हुने उनले जानकारी दिए। यसैगरी आइतबारदेखि नै मन्त्रालयका सबै मातहतका सम्पूर्ण कार्यालयमा यस्ता पदार्थ लैजान रोक लगाइएको छ। त्यसैगरी प्रदेशभित्रका विद्यालय, स्वस्थ्य संस्थालगायतका अन्य स्थानमा सुर्तीजन्य पदार्थको सेवन रोक्ने कार्यको सुरु गरिएको छ। प्रदेशमा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्न कानुन निर्माण गरिने भएको छ। कार्यक्रमको सुरुवातमा प्रदेशका ११ विद्यालय छनोट गरी त्यहाँ सुर्तिजन्य पदार्थको सेवनमा रोक लागाउने प्रतिबद्धता गराइएको छ। प्रदेशका १४ वटै जिल्लाका स्वास्थ्य कार्यालयका प्रमुखले पनि सुर्तीजन्य पदार्थ बोक्न र प्रयोगमा निषेध गर्ने प्रतिबद्धता जनाएका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित