राजनीतिक नियुक्ति, सरुवा/बढुवा, विदेश भ्रमण, हेलिकोप्टर प्रयोगलगायतका गतिविधि नगर्न सरकारलाई निर्देशन

काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचन दुई चरणमा सम्पन्न गर्ने निर्णय गरेको निर्वाचन आयोगले निर्वाचनलाई मर्यादित, स्वच्छ र पारदर्शी ढंगले सम्पन्न गराउन सरकारलाई सात बुँदे निर्देशन दिएको छ । आयोगद्धारा विहिबार जारी विज्ञप्तिमा १० मंसिरमा पहिलो चरणमा हिमाली र उच्च पहाडी ३२ जिल्ला तथा २१ मंसिरमा पहाडी र तराईका ४५ जिल्लामा दुवै निर्वाचन एकसाथ सम्पन्न गरिने उल्लेख छ । आयोगले राजनीतिक नियुक्ति, कर्मचारीहरुको सरुवा, विदेश भ्रमण नगर्न, बजेट रकमान्तर, हेलिकोप्टर प्रयोग लगायतका गतिविधि नगर्न सरकारलाई निर्देशन दिएको हो । निर्वाचन आचार संहिता लागू भइसकेकाले निर्देशनहरुलाई कडाइका साथ पालना गर्न निर्देशन दिँदै आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्राचार गरेको छ । आयोगले सरकारलाई दिएको निर्देशन

१. नेपाल सरकारको स्वामित्वमा रहेका वा सरकारी कोष एवं सर्वसञ्चित कोषबाट खर्च हुने वा बजेट प्राप्त हुने वा नेपाल सरकारबाट कुनै सुविधा हुने पद वा निकायमा कुनै पनि राजनीतिक नियुक्ति नगर्ने ।

२. यूएन, सार्क लगायतका अन्तर्राष्ट्रिय संस्था तथा क्षेत्रीय संगठनहरुमा भाग लिन वा विदेशी राष्ट्रको भ्रमणमा राज्यको प्रतिनिधित्व गर्ने बाहेक अन्य वैदेशिक भ्रमणमा रोक लगाउने तथा राज्यको प्रतिनिधित्व गर्ने गरी विदेश भ्रमणमा पठाउनु नै पर्ने भए स्वीकृतिका लागि निर्वाचन आयोगमा सहमति माग गर्ने ।

३. प्राकृतिक प्रकोप वा अकल्पनीय घटना, उच्च राष्ट्रिय प्राथमिकतासँग सम्बन्धित विषयहरुमा वा राष्ट्रिय गौरवका आयोजनाहरुको हकमा बजेट थप, रकमान्तीर तथा कार्यक्रम संशोधन गर्दा आयोगबाट पूर्वस्वीकृति लिने बाहेक अन्य अवस्थामा बजेट थप, रकमान्तर तथा कार्यक्रम संशोधन सहमति माग नगर्ने ।

४. राजनीतिक नियुक्ति पाएका व्यक्तिले जिल्ला भ्रमण गर्दा निर्वाचन प्रचार प्रसार बाहेकका सरकारी काममा मात्र सवारी साधन प्रयोग गर्ने।

५. कर्मचारीहरुको सरुवा/काज सरुवा नगर्ने ।

६. सम्माननीय प्रधानमन्त्रीज्यूले हेलिकप्टर प्रयोग गर्दा आयोगबाट स्वीकृति लिने तथा मन्त्रीज्यूहरु तथा सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले सरकारी काममा हेलिकप्टर प्रयोग नगर्ने साथै निजी हेलिकप्टर प्रयोग गर्नु पर्दा निर्वाचन आयोगको पूर्व सहमति लिएर मात्र प्रयोग गर्ने ।

७. निर्वाचन आयोगबाट मिति २०७४ भदौ १४ गतेबाट निर्वाचन आचार संहिता लागू भएकाले उक्त आचार संहिताको पूर्णरुपले परिपालना गर्ने/गराउने ।

प्रतिक्रिया

सम्बन्धित