सरकारी जग्गामा भूमाफिया घिसिङको बैना

chandra-ghising

 काठमाडौं । देशमा दण्डहीनताले पराकाष्टा नै नाघ्न थालेको छ । सरकारी सार्वजनिक जग्गा समेत अदालतमा सेटिङ गरी व्यक्तिको नाममा कायम गराउने भनी दुई करोड बैनावापत लिएको तमसुक फेला परेको छ ।

 सर्वोच्च अदालतमा मुद्दा दायर गरी काठमाडौं महानगरपालिका–१३, सोल्टीमोडको जग्गा व्यक्तिको नाममा कायम गरिदिन्छु भनी बैना लिनेमा सेनामा ठेक्कापट्टाको काम गर्ने दोलखाका चन्द्र तामाङ घिसिङ हुन् ।

 उनले का.म.न.पा. १३ को कित्ता नम्बर १०४ को ९ आना ३ दाम, कित्ता नम्बर ९९।१३ को ११ आना १ पैसा, कित्ता नम्बर ७७।१३ को ३ आना १ पैसा, कित्ता नम्बर ५० को ६ आना, कित्ता नम्बर ९७ को ९ आना, कित्ता नम्बर ७३।१३ को ३ रोपनी ७ आना सरकारी जग्गा अदालतबाट बीरगञ्जका अशोककुमार गुप्ताको नाममा कायम गराउने भनी २०७४ साल फागनु १६ गते बुधबार २ करोड बैना लिएका थिए । तर, १३ महिना वितिसक्दा पनि न त जग्गा गुप्ताले पाए न त बैना नै फिर्ता पाए ।

 घिसिङले न्यायाधीशहरुसँग आफ्नो राम्रो सम्बन्ध रहेकाले यो मुद्दा जिताइदिने र जग्गा गुप्ताको नाममा कायम गराइदिने भनी २ करोड बैना लिएका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग आफ्नो कनेक्सन रहेको, धेरै मुद्दामा राणासँग सेटिङ गरी जिताइदिएको भनेपछि गुप्ताले खुरुक्क २ करोड दिए ।

 तर, सरकारी सार्वजनिक जग्गाका सवालमा प्रधानन्यायाधीश भएपछि राणा सजग भएका छन् । र, सरकारी जग्गा व्यक्तिका नाममा कायम गर्दा भावी दिनमा समेत विवादमा परिने भएकाले उनी तर्किदै आएका छन् ।
सरकारी सम्पत्ति हिनामिनामा भन्दा संरक्षण गर्दा लोकप्रिय भइने भएपछि राणा पनि त्यसप्रति सजग छन् । यसको ज्वलन्त उदाहरण एनसेलको लाभकर असुलीमा उनले गरेको फैसलालाई नै लिन सकिन्छ । घिसिङले बैना लिएपनि राणा प्रधानन्यायाधीश भएसम्म उक्त जग्गा व्यक्तिका नाममा हुने संभावना क्षीण छ ।

 यसअघि घिसिङले ट्रमा सेन्टरसँगै बन्दै गरेको सेनाको भवन लिजमा लिने भन्दै अनुप अग्रवाल र राजाराम बाँनियाबाट एड्भान्सवापत १ करोड असुलेका थिए । त्यतिखेर घिसिङले प्रधानसेनापति रहेका राजेन्द्र क्षेत्रीलाई घुस बुझाउनु पर्छ भन्दै अग्रवालबाट मात्र ५० लाख लिएका थिए ।

 अग्रवालले उक्त रकम घिसिङको नेपाल इन्भेष्टमेन्ट बैंकको खातामा जम्मा गरिदिएका थिए । तर, सेनाको भवन लिजमा लिनका लागि लाखौं खर्च गरेका अग्रवाल र बानियाले उक्त भवन नपाएपछि घिसिङसँग पैसा फिर्ता माग्दा घिसिङले उल्टै धम्की दिने अग्रवाल बताउँछन् । अग्रवालले पैसा फिर्ता नदिए प्रहरीमा उजुरी दिन्छु भन्दा घिसिङले उल्टै फसाइदिन्छु भनेर धम्क्याएको समेत अग्रवालले बताए ।

प्रतिक्रिया

सम्बन्धित