ओलीको आलोचना नगर्न नेपाललाई रिमालको सुझाव

bishnu

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीको जथाभावी आलोचना नगर्न सल्लाह दिएका छन् ।

वरिष्ठ नेता नेपालले पार्टी समायोजनमा देखाएको विवादका विषयमा आक्रोश व्यक्त गर्दै रिमालले भने–‘माधवकुमार नेपाल शीर्ष नेता हो । उहाँले माग राख्ने होइन । माग त हामीले हो राख्ने । माधव नेपालजीहरूको कुनै समस्या रहेछ भने छिटै बस्ने केन्द्रीय सचिवालयले कुरा मिलाउला ।’

उनले वैशाख ९ गतेको पार्टी स्थापना दिवस अगाडि एमाले र माओवादी केन्द्रबीच समायोजन हुन बाँकी कुरा सबै टुंगिने दावी गरेका छन् । वर्तमान सरकारले गरेको कामकारबाहीबाट विपक्षी दलहरू आत्तिएको बताउँदै उनले सरकारले एकपछि अर्को गर्दै राम्रा काम गरेको दावी समेत गरे ।

नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान कुरा गर्दै रिमालले भने–‘वैशाख ९ गते पार्टी स्थापना दिवस छ । त्यसभन्दा अगाडि केन्द्रीय सचिवालय बैठक बस्छ । त्यहि बैठकमा एमाले र माओवादी केन्द्रबीच समायोजन हुन बाँकी कुरा सबै टुंगिन्छ ।’

‘जनताको मत पाएर आएको सरकारले गरेका कामहरू राम्रा छन् । बजेट आउँदै छ । वृद्ध भत्ता बढ्छ । अरु पनि राम्रा कार्यक्रम आउँछन् ।’ सरकारले बनाएको एकवर्षको जगमा रहेर नयाँ बजेटमा कार्यक्रम आउने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित