सरकारले एक वर्षसम्म हस्तक्षेप मात्रै गरेको सभापति देउवाको दावी

sher_1

   महेन्द्रनगर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले काम गर्ने भन्दा पनि हरेक क्षेत्रमा हस्तक्षेप मात्र गर्न तल्लिन हुँदा एक वर्षको अवधिमा एउटा पनि राम्रो काम गर्न नसकेको आरोप लगाएका छन् ।

मंगलबार प्रेस युनियन कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले मुलुकको शान्ति सुरक्षाको अवस्था पनि सन्तोषजनक नभएको बताए । उनले भने–‘सरकारले निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाका दोषीलाई पक्राउ गर्नुको सट्टा दोषीलाई नै संरक्षण दिने र जोगाउने काम सरकारले गरिहेको छ।’

उनले घटनाको ९ महिना बितिसक्दा पनि सरकारले अपराधीलाई पक्राउ गर्न नसक्नु सरकारको ठूलो कमजोरी भएको बताए।

सरकारले प्राज्ञिक क्षेत्रदेखि प्रेससम्म जताततै अनावश्यक हस्तक्षेप गरी लोकतन्त्रको मर्म विपरित काम गरिरहेको आरोप लगाए। उनले भने–‘प्रजातन्त्र र प्रेस एक अर्काका पर्यायवाची हुन, प्रेस बलियो भएमा मात्र प्रजातन्त्र बलियो हुन्छ ।

तर सरकार भने विश्वविद्यालयका पदाधिकारीलाइ कारवाही गर्ने नाममा ठाडो हस्तक्षेप गरी आफू नजिककालाई धमाधम भर्ना गर्न थालेको छ, प्रेसलाइ पनि अनावश्यक रुपमा सताइरहेको छ।’ कांग्रेसलाई यस्तो खाले हस्तक्षेप सह्य र मान्य नहुने उनले बताए।

कार्यक्रममा बोल्दै उनले पार्टी भित्रको अनुशासनहीनता र चुनावका बखत हुने अन्तरघात अन्त्य गर्न आफू प्रतिबद्धताका साथ अघि बढेको बताए। उनले भने–‘पार्टीको केन्द्रिय अनुशासन समितिले यस सम्बन्धमा काम सुरु गरिसकेको छ, प्रकृया अनुसार कारवाही हुनेछ । पार्टीमा गुट उपगुट पनि अनुशासन समितिको काम कारवाही पछि अन्त्य हुन्छ।’

प्रतिक्रिया

सम्बन्धित