निर्वाचन आयोगको प्रमुखमा सिफारिस थपलियाको सुनुवाइ आज हुँदै

dinesh kumar thapaliya

 काठमाडौं। निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचनमा सिफारिस  आयुक्त दिनेशकुमार थपलियाको सुनुवाइ आज हुँदै छ । संवैधानिक परिषद्को चैत्र ११ गते बसेको बैठकले थपलिया र समावेशी आयोगको सदस्यका लागि विष्णुमाया ओझाको नाम प्रस्ताव गरेको थियो ।

 मंगलबारको बैठकमा उजुरी खोलेर संसदीय सुनुवाइ समितिका सदस्यलाई वितरण गरिएको थियो ।
थपलियाविरुद्ध उजुरी दिनेहरुलाई बुधबार ११ बजे बोलाइएको छ र २ बजे बस्ने बैठकले सुनुवाइ गर्नेछ । थपलियाविरुद्ध ६ उजुरी परेका छन् ।

 संविधानको धारा २८४ मा संवैधानिक परिषद्सम्बन्धी व्यवस्था छ । यो धाराको उपधारा ३ मा लेखिएको छ– ‘संवैधानिक परिषद्ले प्रधानन्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिनाअगावै यस संविधानबमोजिम नियुक्तिका लागि सिफारिस गर्नुपर्नेछ ।’

 तर परिषद्ले संविधान मिचेर थपलियाको प्रस्ताव गरेको थियो ।
परिषद्मा प्रधानमन्त्री अध्यक्ष, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता, प्रतिनिधिसभाका उपसभामुख सदस्य रहने व्यवस्था छ । संविधानको धारा २९२ मा संसदीय सुनुवाइसम्बन्धी व्यवस्था छ ।
संवैधानिक निकायका प्रमुख, पदाधिकारी वा सदस्य कुनै पनि पदमा नियुक्ति हुनुअघि संघीय कानुनबमोजिम संसदीय सुनुवाइ हुनुपर्ने प्रावधान छ । सुनुवाइ समितिमा नेकपाका ९, कांग्रेसका ४, राजपाका १ र मधेसी जनाधिकार फोरम नेपालका १ गरी १५ सांसद रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित