ठेकेदारको लापरवाहीले मध्यभोटेकोसी आयोजना समस्यामा

bhotekoshi

 काठमाडौं । आगामी असारदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको मध्यभोटेकोसी जलविद्युत आयोजना निर्माण व्यवसायीको लापरबाहीका कारण समस्यामा परेको छ । निर्माण व्यवसायीले समयमा काम नगर्दा आयोजनाको भौतिक प्रगति मात्रै ४२ प्रतिशत हुन पुगेको छ । निर्माण सम्पन्न हुने वेलामा भौतिक प्रगति ५० प्रतिशतभन्दा कम हुनु दुर्भाग्यपूर्ण रहेको प्रवद्र्धक संस्थाको भनाइ छ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी मध्य भोटेकोसी जलविद्युत्् कम्पनी लिमिटेडले सो आयोजना निर्माण गरिरहेको छ ।

कुल १ सय २ मेगावाट क्षमताको सो आयोजनामा निर्माण व्यवसायीको लापरबाही भएको पाइएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको टोलीले निष्कर्ष निकालेको छ । सिभिल तथा हाइड्रोमेकानिकलको काम इन्जिनियरिङ, खरीद र निर्माण (इपिसी) ढाँचामा ठेक्का लिएको चिनियाँ कम्पनी क्वाङसी हाइड्रो एन्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कार्यसम्पादन कमजोर रहेको पाइएको छ । जसका कारण आयोजनाको निर्माण कहिले सकिने हो भन्नेमा अनिश्चित बनेको छ ।

आयोजना नै अन्योलमा पर्ने अवस्था देखिएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही दिन पहिले आयोजनास्थलको निरीक्षण गरी निर्माण अवस्थाको बारेमा जानकारी लिएका थिए  । निर्माण व्यवसायीले काम नगरेपछि आयोजनास्थल हाल सुनसान जस्तै रहेको छ । आयोजनाको बाँधस्थल, सुरुङ र विद्युत्गृहको काम अलपत्र छ । ‘ठेकेदार कम्पनीलाई काममा सुधार गर्न निरन्तर निर्देशन दिँदै आएका छौँ, सुरुङ, विद्युत्गृह, बाँधलगायतका सबै क्षेत्रमा समानान्तर रूपमा काम गर्न कुनै समस्या छैन तर ठेकेदार कम्पनीले नगद प्रवाहको समस्या देखाउँदै काम गरिरहेको छैन’, उनले भने ।

ठेक्का सम्झौतामा भएको व्यवस्थाअनुसार काममा सुधार गर्न निर्देशन दिए पनि कम्पनीले काममा तदारुकता देखाएको छैन । ठेकेदार कम्पनीको मुख्यालयबाट उच्च तहका अधिकारीलाई बोलाएर छलफल गरे पनि कुनै प्रगति भएको छैन । आयोजना अन्योलमा फस्दैमा गएपछि आगामी दिनमा के कसरी निकास खोज्ने भन्नेबारेमा उचित निर्णय लिनुपर्ने आवश्यकता देखिएको छ । आयोजनाको प्रवद्र्धक मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडमा प्राधिकरणको दश प्रतिशत संस्थापक सेयर छ । चिलिमेको प्रबन्ध–सञ्चालक हुँदा घिसिङले नै आयोजना अगाडि बढाएका थिए ।

मध्य भोटेकोसीले गत २७ फेब्रुअरीमा ३० दिनको समय दिएर काममा सुधार गर्न पत्र दिएको थियो । त्यस अवधिमा काममा सुधार गर्न कम्पनीले कुनै चासो नदिएको मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मणिकुमार काफ्लेले बताए । ‘चीनबाट ठेकेदार कम्पनीका अधिकार प्राप्त अधिकारी पनि छलफलका लागि आए तर ठोस निर्णय हुन सकेको छैन’, प्रमुख कार्यकारी अधिकृत काफ्लेले भने, ‘निर्माणका लागि आवश्यक पर्ने उपकरण कसरी ल्याउने, नगद कहाँबाट जुटाउनेलगायतका विषयसहित आयोजना निर्माणको लिखित प्रतिबद्धता माग गरेका छौँ तर उसले दिन सकिरहेको छैन ।’

आयोजनामा ढिलाइ भइरहे प्रवद्र्धक कम्पनीले ठेक्का तोड्ने तयारी गरेको छ । सोबारेमा छिट्टै निर्णय हुने बताइएको छ । जुरे पहिरो, भूकम्प तथा त्यसपछिका बाढी, पहिरो, समयमा जग्गा उपलब्ध गराउन नसक्दा निर्माण व्यवसायीले अपेक्षा गरेअनुसार काम गर्न नसक्दा आयोजनाको काममा ढिलाइ भएको हो । हालसम्म बाधस्थल खन्ने, मुख्य बाँध निर्माण गर्न नदी फर्काउने लगायतका काम भएका छन् । कुल सात हजार १२६ मिटर लामो मुख्य सुरुङमध्ये चार हजार ६० मिटर सुरुङ खन्ने कार्य सम्पन्न भइसकेको छ । विद्युत् गृह खन्ने कार्य सम्पन्न गरी ढलान गर्ने काम भइरहेको छ ।

आयोजनाको लागत बढ्न नदिन सिभिल तथा हाइड्रोमेकानिकलको काम इन्जिनियरिङ, खरीद र निर्माण ९इपिसी० मोडेलमा चिनियाँ कम्पनी क्वांसीले ठेक्का लिएको छ । इलेक्ट्रिक मेकानिकलतर्फको काम भने एन्ड्रिज हाइड्रोले गरिरहेको छ ।

आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता हुँदाका बखत निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड रहेको थियो । हाल यस आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १४ अर्ब ८३ करोड ९२ लाख रहेको छ । निर्माणाधीन आयोजनाको सुरुको कुल लागतमध्ये ५० प्रतिशत स्वपूँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइने व्यवस्था मिलाइएको छ । कुल ५० प्रतिशत ऋणका लागि कर्मचारी सञ्चय कोषसँग ऋण सम्झौता भएको छ । (नेपाल समाचारपत्र )

 

प्रतिक्रिया

सम्बन्धित