ठालुलाई जोगाउने अभियानमा कस्की प्रहरी प्रमुख, प्रहरीकै मिलेमतोमा बेश्यावृत्ति

यदुनाथ बञ्जारा पोखरा । कास्की प्रहरी प्रमुखमा नयाँ एसपी आएपछि हल्ली चल्ली मच्चिन थालेको छ । महानगरीय प्रहरी परिसर ललितपुरबाट कास्की कमाण्ड सम्हाल्न आइपुगेका प्रहरी उपरीक्षक अशोक सिंहले समाज सुधार अभियानलाई लक्षित गरि जुवा, वेश्यावृति, अवैध मदिरालाई केन्द्रित गरेर आफ्नो एक्सन प्लानलाई अघि सारेका छन् । एसपी सिंहले सुतेर बसेका कतिपय प्रहरी अधिकृतहरुलाई असिन पसिन बनाएका छन् । उनको कदम सकारात्मक नतिजातर्फ उन्मुख छ ।

 तर, कतिपय घटनामा हात मोल्नु पर्ने अवस्थाले भने उनको मिशनलाई अल्पविराम लगाउने प्रयास गरिरहेको छ । यस्तै एउटा अल्पविराम सराङकोट पुगेका ठूलो माछाले सिर्जना गराएका छन् । भाद्र ७ गते शुक्रबार गुड फ्राइडे मनाउन सराङकोट पुगेका दुई जोडी पक्राउ परे पनि हेभिवेट (वहालवाला) कर्मचारी परेका कारण बीच बाटोबाटै छोड्न वाध्य कास्की प्रहरीले आफै निर्लज्ज भएको महसुस ग-यो । पक्राउ परेका दुई पाका उमेरका मानिसमध्ये एक जना राष्ट्रसेवक कर्मचारी रहेको स्रोतले बतायो ।  कार्यालय प्रमुख समेत रहेका ति व्यक्तिले अर्का एक जना सेवा निवृत राष्ट्रसेवक समेतलाई रासलिलाको लागि सुरक्षित गन्तव्य सोचेर सराङकोटको टापुमा रहेको एक होटलमा दुई जना यौनकर्मी सहित पु-याएको सुराक कास्की प्रहरीले पाएपछि राती अन्दाजी १० बजे प्रहरीले उनीहरुलाई फेला पारेको थियो ।

 सोधपुछ गर्दा उनीहरु नेपाल सरकारका उच्च अधिकारी समेत रहेको र आफूहरुलाई जोगाइदिन विन्ती गरेपछि छापा हान्न गएको प्रहरी टोलीले मानवीयता प्रदर्शन गर्दै त्यहाँबाट उद्दार गरि सुरक्षित गन्तव्य तर्फ पठाएको थियो भने सोही होटलमा लगिएका दुई यौनकर्मी महिलालाई पक्राउ गरि हिरासतमा लिइएको थियो । पोखरामा प्रहरीको सकृयता बढी महसुस गरेका कारण यौन पारखीहरु गाउँ/पाखा तिरका होटलमा जाने गरेका छन् । पोखरा वाग्लुङ बसपार्कमा घर हुने बलबहादुर नेपाली नामका कोठी सञ्चालकले आफ्नो वगाले टोल स्थित होटलबाट ग्राहक कन्ट्याक गरि आफैले सराङकोटमा खोलेको होटलमा केटी सहित पठाउने गरेको रहस्य प्रहरीले फेला पारेको छ । प्रहरी अझै पनि नेपालीलाई भने पक्राउ गर्न सफल हुन सकेको छैन ।

 पक्राउ परेका ठूला माछालाई जाल काटेर उद्दार गरिए पनि पिंजडामा परेकी नगरवधुहरु भने दुई रात पछि छुटाइएका छन् । केटी कारोवारी नेपाली फेला नपरेपनि उनकी श्रीमती सिता नेपालीलाई भने वाग्लुङ बसपार्कबाट गिरफ्तार गरेर भोलीपल्ट छुटाइएको थियो । हामीले प्रहरीको कार्यशैलीका बारेमा निरन्तर रिपोर्टिङ गरिरहेका छौं । प्रहरी सकृयता राम्रै ढंगले बढेको छ । यो पक्ष सकारात्मक छ । तर, विभेद भने न्यूनिकरण भएको पाइएन । ठूलाठालुहरु उम्काइएका छन् त्यहि केशमा सर्वसाधारण थुनिएका हुन्छन् । गुड फ्राइडे मनाउन केटी लिएर सराङकोट जाने सरकारी कार्यालयका अधिकृतहरु ससम्मान उद्दार गरिने र केटीहरु थुनिनुपर्ने यो कस्तो न्याय होला ।  यस अघि पनि सडक दुर्घटनामा परेकालाई जबर्जस्ती मिलापत्र गर्न लगाएको विषयमा पोखरा प्रहरी विवादमा परेको थियो ।

 साउन २४ गते हरियो खर्कमा सवारी दुर्घटनामा परि घाइते भएका ३५ वर्षिय सुर्य रानाभाटको दाँया खुट्टा काटिएपछि पनि प्रहरीले पीडकलाई नै संरक्षण दिएको समाचार यस अस अघि यूनाइटेड पोष्टले नै प्रकाशित गरिरकेको छ । प्रहरीकै मिलेमतोमा घटनामा संलग्न सवारी साधन ग२च ४६१५ नम्वरको कार प्रहरी कार्यालय नल्याइकन एकैचोटी मुद्दा टुङ्ग्याइएको थियो । दुर्घटनामा संलग्न कार र कार चालक बारे पत्रकारहरुले वुझ्न खोज्दा प्रहरी कार्यालय कास्कीले परस्पर विरोधी अभिव्यक्ति दिएको थियो । यस बारेमा पनि एसपी अशोक सिंहले पत्रकारहरुलाई यथार्थ विवरण दिन मानेका थिएनन् । यसको मुख्य कारण हो कार चालक गौतम अञ्चल प्रहरी कार्यालय गण्डकीका एसएसपी विष्णुहरी गौतमका सहोदर भाई हुन् ।

 कार चालक पक्षधरले कार आफू सँगै रहेको बताइरहँदा सँगै रहेका कास्की प्रहरीका प्रवक्त डिएसपी खड्कबहादुर खत्रीले कार जिल्ला ट्राफिक प्रहरी कार्यालयमा रहेको बताएका थिए । प्रहरी उपरीक्षक सिंहको कार्य कक्षमै डिएसपी खत्रीले दुर्घटना गराउने गाडी ट्राफिक प्रहरी कार्यालयमै रहेको बताएका थिए । तर, ट्राफिक कार्यालय कास्कीमा बुझ्दा उक्त गाडी मर्मतका लागि हुण्डाईको वर्कसपमा राखिएको थाहा हुन आयो । तरपनि एसपी सिंहले कुनै प्रतिक्रिया दिएनन् ।  सार्वजनिक ओहदामा रहेकाहरुबाट गल्ती गरेमा बढी सजाय हुनुपर्नेमा उम्काइन्छ भने यो शैलीबाट कानूनको समान कार्यान्वयन कसरी महसुस गर्ने ? सिंघम एसपी अशोक सिंह यस बारेमा स्पष्ट हुनु जरुरी छ । कानून कार्यान्वयनमा पनि शुन्य सहनसिलता अपनाउन सके उनी सफल र निस्पक्ष पुलिस अफिसर कहलिने छन् । नत्र भने उनीपनि विवादमा नै रुमलिने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित