गोपालमानसँग चुनाव लडेको खर्च उठाउँदै मन्त्री अर्याल

Padma-Aryal-Ncp

 काठमाडौं । भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालमाथि काठमाडौं उपत्यकाका मालपोत र नापी कार्यालयका प्रमुखहरुको सरुवामा घुस असुली गरेको आरोप लागेको छ । कांग्रेस नेता गोपालमान श्रेष्ठसँग चुनाव लड्दा धेरै रकम खर्च भएको भन्दै उनले रकम असुलीलाई तीव्र पारेकी छन् ।

 उनले कार्यालय प्रमुखलाई काठमाडौंबाट काठमाडौंमै सरुवा गरेर ऐन नियम र मापदण्ड कुल्चेकी छन् । आकर्षकबाट आकर्षक कार्यालयमा उनको जस्तो सरुवा यसअघि भूमिसुधार मन्त्रालयमा भएको थिएन ।
काठमाडौं उपत्यकाका केही कार्यालय प्रमुखलाई थमौती गरेकी छन् । सुरुमा उनले काठमाडौं उपत्यकाका मालपोत र नापी कार्यालयका प्रमखहरुको सरुवा गर्ने भन्दै सबैलाई त्रसित बनाइन् । सरुवा गर्ने भनेपछि काठमाडौं उपत्यकाका मालपोत र नापी कार्यालयका प्रमुखहरु थैली बोकेर मन्त्रीका स्वकीय सचिवालयमा कार्यरत राजेश शर्मा र दीपक भण्डारीसँग पुगे ।

 उनीहरुले उपत्यकाका प्रत्येक मालपोत र नापी कार्यालयका प्रमुखहरुसँग न्यूनतम १० लाख रुपैयाँ लिएर मालपोत कार्यालयका प्रमुखलाई थमौती गरेका छन् । नापी कार्यालयका प्रमुखहरुलाई वल्लो कार्यालयबाट पल्लोमा सरुवा गरेका छन् । नापी कार्यालय भक्तपुरका प्रमुख ध्रुव कोइराला, चावहिल मालपोतका कामु प्रमुख कलक खड्का थमौती भएका छन् ।

 खड्काको बझाङको स्थानीय तहमा सरुवा भएको छ । तर संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले उनलाई समायोजन भएको कार्यालयमा नजाँदा पनि कारबाही गरेको छैन ।
यसैगरी, नापी कार्यालय ललितपुरका सुरेश जोशीलाई कलंकी नापी कार्यालयमा सरुवा गरेकी छन् ।

 डिल्लीबजार नापी कार्यालयको नापी अधिकृत हुँदा महाराजगञ्जको कुष्ठरोग निवारण संघको सरकारी जग्गा ब्यक्तिको नाममा गैरकानुनी रुपमा दर्ता गरेको आरोपमा ग्रेडरोक्का भएका कलंकी नापी कार्यालयका दुर्गादास महर्जनलाई चावहिल नापी कार्यालयमा सरुवा गरिएको छ । भक्तपुर नापी कार्यालयका प्रमुख ज्ञानेन्द्र बिष्टलाई त्यहीँ थमौती गरिएको छ ।

 भूमिसुधार मन्त्रालयका प्रमुख नापी अधिकृत नारायण रेग्मीलाई ललितपुर नापी कार्यालयमा सरुवा गरिएको छ ।(यूनाइटेड पोस्ट साप्ताहिक)

 

प्रतिक्रिया

सम्बन्धित