भिडियो कन्फरेन्समार्फत आईजीपीले शुरु गरे एन्टी बुलिङ अभियान

antibuling

 काठमाडौं। नेपाल प्रहरीले विद्यालय तथा क्याम्पसमा हुने सम्भावित अभद्र व्यवहार तथा हैरानी रोक्न एन्टी बुलिङ अभियान सुरु गरेको छ । 

 प्रदेश स्तरीय सुरक्षा गोष्ठीको सिलसिलामा २ नम्बर प्रदेश जनकपुरमा रहेका आईजीपी सर्वेन्द्र खनालले भिडियो कन्फेरेन्सको माध्यमबाट काठमाडौंको किष्ट कलेजमा आयोजित कार्यक्रमलाई सम्बोधन गरी राष्ट्रव्यापी रुपमा अभियान शुभारम्भ भएको घोषणा गरे ।

 कार्यक्रमलाई सम्बोधन गर्दै आईजीपी खनालले समाजमा अपराध रोकथाम र नियन्त्रण गर्न तथा सुरक्षा सचेतना अभिवृद्धि गर्नको लागि समुदाय र प्रहरीको सहकार्य र साझेदारीको विकल्प नरहेको धारणा व्यक्त गरे ।

 स्कुलभित्र र बाहिरको समेत वातावरण सुरक्षित बनाउन प्रहरीले कुनै पनि कसर बाँकी नराख्ने र यसको लागि प्राज्ञिक क्षेत्रसँग सहकार्य गरेर योजनाबद्ध रुपमा अगाडि बढने प्रतिवद्धता समेत आईजीपी खनालले जनाएका छन् । उक्त अभियान अन्तरगत प्रहरीले वैशाख र जेठभर हरेक स्कुलमा पुगेर कार्यक्रम सञ्चालन गर्ने उनले वताए ।

 अभियानका क्रममा स्कुल तथा कलेजमा जनचेतनामूलक पोष्टर टाँसिनेछ भने अन्तरक्रियात्मक प्रवचनहरु पनि हुनेछ भने छात्राहरु लक्षित हिंसा तथा साइबर अपराधबारे समेत सचेतना जगाइने छ  ।

 विद्यालयहरूका प्रतिनिधिको रुपमा किष्ट कलेजका प्रिन्सिपल डम्मर सिंह ऐरले प्रहरीले सञ्चालन गर्न लागेको यस राष्ट्रिय अभियानको शुभारम्भ आफ्नो कलेजबाट भएको तथा यस्तो विशिष्ट कार्यक्रममा आफ्नो व्यस्तताका बाबजुद प्रहरी महानिरीक्षकज्यूले भिडियो कन्फेरेन्सको माध्यमबाट सम्बोधन गर्नु भएको भन्दै आभार प्रकट गरेका छन् ।

 कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले समुदाय-प्रहरी साझेदारीको अवधारणा र विकासको औचित्यबारे प्रकाश परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित