इराकमा हारेको बदला श्रीलंकाबाट लिएको आईएसको दाबी

is

  काठमाडौं । इस्लामिक स्टेट समूहका नेता अबु बकर अल बगदादीले इराकमा हारेको बदला लिन श्रीलंकामा श्रृंखलावद्ध बम विस्फोट गराएको बताएका छन् ।

बगदादीले १८ मिनेट लामो भिडियोमा सार्वजनिक गर्दै भनेका छन्–‘इराकको बागुजमा लडाइँ समाप्त भएको छ, तर अझै धेरै कुरा हुन बाँकी नै छ ।’

श्रीलंकामा इस्टर सन्डेको बेला श्रृंखलावद्ध विष्फोट गराइँदा झण्डै ३ सयको ज्यान गएको थियो भने पाँच सय बढी घाइते छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यम विविसीका अनुसार इराकमा पराजय भोगे पनि बगदादीको नयाँ भिडियो सार्वजनिक गरेर इस्लामिक स्टेटले आफूहरु समाप्त नभएको सन्देश दिन खोजेको छ ।

इराकको बागुज क्षेत्र इस्लामिक स्टेटको अन्तिम गढ मानिन्थ्यो । त्यहाँ इस्लामिक स्टेटलाई भएको क्षतिको ध्यान मोड्न बगदादीले नयाँ भिडियो सार्वजनिक गरेको अनुमान गरिएको छ ।

बगदादीको वास्तविक नाम इब्राहिम अब्बाद इब्राहिम अल बदरी हो । अमेरिकाले उनको टाउकोको मूल्य साढे २ करोड अमेरिकी डलर तोकेको छ । सन् २००३ मा जब अमेरिकी सेना इराक प्रवेश गरे, त्यति बेलासम्म बगदादी शहरको एक मस्जिदमा मौलवी थिए ।

इस्लामी चरमपन्थी संगठन इस्लामिक स्टेट इन इराक एन्ड अल–शाम (आईएसआईएस) ले इराक र सिरियाका आफ्नो नियन्त्रणमा रहेका क्षेत्रमा ‘खिलाफत’ (इस्लामी राज्य) घोषणा गरेको थियो । त्यसपछि संगठनले अबु बकर अल बगदादीलाई ‘खलिफा’ र मुस्लिमहरुको नेता घोषणा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित