पौडेलले बनाए विरोधीहरूको सूची

bishnu poudel

 काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले आफूलाई बचाउन ठूलो खेलो फड्को गरेको खुलासा भएको छ ।

 बालुवाटारको सरकारी जग्गा काण्डमा फसेका पौडेलले नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड ’सहितका दोस्रो तहका नेताहरूलाई कन्भिन्स गरेर कारबाहीबाट बच्ने तयारी गरेका हुन् । पौडेलले आफ्ना कट्टर विरोधी ईश्वर पोखरेललाई समेत कन्भिन्स गरेर आफ्नो समर्थक बनाएका छन् ।

 राजनीतिका कुशल खेलाडी महासचिव पौडेलले विरोधी नेताहरू सबैलाई एक्ला–एक्लै भेटेर आफ्नो पक्षमा माहोल बनाएका हुन् । पौडेलले बामदेव गौतम, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठसहितका नेताहरूलाई पनि गोप्य रुपमा भेटेर कन्भिन्स गरेको स्रोतले जनाएको छ ।

 बालुवाटारको सरकारी जग्गा काण्डमा भूमाफियाहरूसँग पौडेलको नाम प्रमुखताका साथ जोडिएको छ । उनले आफूलाई फसाइएको बताउँदै आएका छन् । पौडेलले आफूविरुद्ध विरोधी गिरोह सक्रिय भएर लागेको बताउने गरेका छन् ।

 नेकपाका महासचिव पौडेलले आफू निकटका पत्रकारहरूको भेला पनि राखेका थिए । उनले बालुवाटारको जग्गा काण्डमा कुनै पनि समाचार नलेख्न निर्देशन दिएका छन् । समाचार लेखे पार्टीभित्रैबाट कारबारी गर्ने भनेर धम्की समेत दिएको एक पत्रकारले बताए । ‘पत्रकार कमरेडहरू मेरोविरुद्ध षड्यन्त्र भएको छ । मलाई फसाइएको छ’, महासचिव पौडेललाई उदृत गर्दै स्रोतले भन्यो, ‘नेकपा निकटका मिडिया र पत्रकारहरूले मेरोविरुद्ध समाचार लेखेमा म चुपलागेर बस्दिन, कारबाहीको प्रक्रिया अगाडि बढाउँछु ।’

 कुनै बेला बुटवलमा सुकुम्वासी जग्गामा बसेर सोही जग्गा छोरा नवीन पौडेलको नाममा गराएका महासचिव पौडेलले ललितपुरको भैँसेपाटीमा झण्डै सात करोड बराबरको महल बनाएका छन् । सुकुम्वासी नेताले राता राता यति ठूलो घर कसरी बनाएर भनेर धेरैले आश्चर्य जनाएका छन् ।

 गज्जवको कुरा त के छ भने महासचिव पौडेलले सम्पत्तिहरू सबै श्रीमती र छोराका नाममा राख्ने गरेका छन् । लुम्बिनी विकास कोषको सदस्य सचिव र उपाध्यक्ष नियुक्तिमा हस्तक्षेप गरेका पौडेल आर्थिक लाभ हुने ठाउँमा आफूलाई कसैले चाल नपाउने गरेर अगाडि बढाउँछन् ।

 कसैका विरुद्ध खुलेर आलोचना नगर्ने पौडेलले आफ्ना विरोधीहरूको सूची नै तयार पारेको बताइएको छ । पौडेलको खुलेर विरोध गर्ने नेकपाका नेताहरू पनि पछिल्लो समय चुप छन् । आफू फस्ने भएपछि प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम समेत बालुवाटारको जग्गा काण्डमा मुछेका छन् ।

 नेपाली कांग्रेसले पौडेललाई पछ्याउन थालेपछि नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले पौडेल निर्दोष रहेको भनेर घोषणा गरेका छन् । बालुवाटारको जग्गा काण्डलाई प्रभावित तुल्याउन ओलीले गरेको हस्तक्षेपविरुद्ध नेपाली कांग्रेस र नागरिक समाजले आफूलाई ब्याक नगराउने जनाइ सकेका छन् । (यूनाइटेड पोस्ट साप्ताहिक)

प्रतिक्रिया

सम्बन्धित