मदन भण्डारीको हत्यारा पत्ता लगाउने गृहमन्त्रीको दावी भाषण मात्रै कि साँच्चिकै ?

badal`

  काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्यारा खोजी प्रक्रिया सुरू गरिएको दाबी गरेका छन् । २६ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा मदन भण्डारी स्मृति बाटिका, कोटेश्वरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले छानबिन प्रक्रिया सुरू गरिएकाले छिट्टै हत्यारा पत्ता लाग्ने बताए ।

भण्डारीको सालिक अगाडि उभिएर गृहमन्त्री थापाले भने–‘नेता मदन भण्डारी र जीवराज आश्रितको हत्याबारे छानबिन गर्न हामीले प्रक्रिया थालेका छौं । छिट्टै हत्यारा पत्ता लाग्ने छ ।’

नेकपा एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको ०५० जेठ ३ गते चितवनको दास ढुंगामा जीप दुर्घटनामा परी निधन भएको थियो । जुन दुर्घटनालाई रहस्मय ठानिँदै आएको छ । दुर्घटनाका साक्षी जीप चालक अमर लामाको हत्यापछि यो थप रहस्मय बन्न पुगेको छ ।

‘जुन जोगी आए पनि कानै चिरेका’ भनेझैं स्मृति दिवसको दिन मात्र सम्झने परम्परा भने नेपालमा विद्यमान छ । स्मृति दिवसको दिन जनताको अगाडि प्रधानमन्त्री, गृहमन्त्री तथा राजनीतिक दलका शिर्ष नेताहरुले काम हुँदै छ भन्ने तर काम कहिल्यै नभएका उदाहरणहरु हामीमाझ धेरै छन् ।

२०५८ साल जेठ १९ गते भएको राजदरबार हत्याकाण्डको नालीबेली अझै के हो कसैले पत्तो पाउन सकेका छैनन् । हुनत देशमा राजतन्त्र अन्त्य(राज ज्ञानेन्द्र शाहले राजसत्ता त्यागेपछि) भएपछि नै ६ जना प्रधानमन्त्री बनिसके ।

सबैले राजा विरेन्द्र शाहका परिवार सखाप पार्ने गरी भएको हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्ने बताए । तर, अझैसम्म पनि कसैले जनतामाझ राजालाई कसले मार्यो भनेर सार्वजनिक गर्न सकेका छैनन् ।

२५ वर्षदेखि मदन भण्डारीको हत्यारा पत्ता लगाउछौं भनेर भाषण गर्ने प्रधानमन्त्री, गृहमन्त्री र नेताको संख्या गणना गर्ने हो भने दुई हातका औंलाले भ्याउँदैनन् । तर, हत्यारा भने अझै पत्ता लगाउन सकेका छैनन् । अहिले गृहमन्त्री बादलले पनि जनताको आँखामा छारो हाल्न भाषण मात्र गरेका हुन् कि साँच्चिकै हत्यारा पत्ता लगाउने हुन्, त्यो भने पर्खाइको विषय बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित