हुण्डी कारोबारीको गिरोहमाथि ठुलो कारवाही, ४ अर्ब १२ करोड बिगो

काठमाडौं ।  हुण्डी गर्न राखेको १२ लाख रुपैयाँ नगदसहित पक्राउ परेका अभियुक्तलाई राजस्व अनुसन्धान विभागले १५ महिनापछि चार अर्ब १२ करोड बिगो कायम गरी मुद्दा दायर गर्ने तयारी गरेको छ। बिगोबराबर जरिवानाको माग दाबीसहित यही साताभित्र काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिने विभागले जनाएको छ। काठमाडौं प्रहरी परिसरले सुन्धाराको जेबो ट्राभल्समा छापा मारेर १२ लाख रुपैयाँ नगदसहित त्यहाँ काम गर्ने दलबहादुर पुन र लवकुमार नेपाललाई विभागमा बुझाएको थियो। पक्राउ परेका अभियुक्तद्वय धरौटीमा छुटे पनि लामो समयसम्म अनुसन्धान भएको थिएन।

 पछि विभागले रामप्रसाद रेग्मीलाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान अघि बढाएपछि हुन्डी कारोबार गरेको पक्का भएको विभागसम्बद्ध स्रोतले बतायो। यो ट्राभल्सका मालिक र हुन्डी कारोबारी धर्म गुरुङ र मिलन गुरुङ विभागको सम्पर्कमा आएका छैनन्। मिलन पोखरा घर भएका धर्मका भान्जा हुन । धर्म हङकङमा बस्छन भने मिलन काठमाडौं र पोखरामा बस्दै आएका छन् । विभागका अनुसार गुरुङद्वय, कामदार पुन र नेपालका साथै नीलिमा थामी राईलाई मुद्दामा अभियुक्त बनाइनेछ। कारोबार गरेको देखिएका राजेन्द्रमान गुरुङ र विद्यादेवी गुरुङ पनि अभियुक्त हुनेछन्। गुरुङ दम्पतीलाई हुन्डीको रकम भुक्तानी गर्न ५० लाख रुपैयाँको चेक काटेको भेटिएको थियो।

 पोखराका गुरुङ दम्पती पनि अहिले बेलायतमा बसोवास गर्छन् । ट्राभल्सको कम्प्युटर नियन्त्रणमा लिई अनुसन्धान गरिएको थियो। कम्प्युटरमा प्रविष्ट गरिएको हुन्डीमार्फत स्थानान्तरण गरिएको रकमका आधारमा बिगो कायम गरिएको हो। कम्प्युटरबाट प्राप्त सूचनाका आधारमा रकम यहाँबाट पठाउने र विदेशबाट ल्याउने काम बराबरजस्तै छ। अस्ट्रेलिया, ब्रिटेनलगायत देशबाट रकम आएको र विभिन्न देशमा हुन्डीमार्फत पैसा पठाएको कम्प्युटरमा देखिएको थियो। ‘कम्प्युटरमा तीन महिनाको रेकर्डमात्र भेटिएको हो', स्रोतले भन्यो, ‘तैपनि यति ठूलो कारोबार भएको फेला पर्‍यो। आजको अन्नपूर्णमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित