दोस्रो चरणमा २० दिने आन्दोलनको घोषणा, चौतर्फी छलफलदेखि हाते साङ्लोसम्म

press

  काठमाडौं । पहिलो चरणको आन्दोलन पूरा भइसक्दा पनि सरकारले वेवास्ता गरेपछि नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । पहिलो चरणको आन्दोलन असफल जस्तै बनेपछि महासंघले १९ दिनसम्म छलफल चलाउने र २०औं दिन मानव हातेसाङ्लो बनाई बृहत प्रदर्शन गर्ने तयारी गरेको हो ।

संसदमा दर्ता हुन लागेको मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएको महासंघले सरकारले माग संबोधनमा गम्भीरता नदेखाएको भन्दै आज दोस्रो चरणको विरोध कार्यक्रम घोषणा गरेको हो ।

आइतबार बसेको महासंघको केन्द्रीय समितिको बैठकले जेठ ६ गतेदेखि सुरु हुने दोस्रो चरणको आन्दोलन २५ गतेसम्म सञ्चालन गरिने निर्णय गरेको हो ।

जेठ ६ र ७ गते महासंघका पूर्वअध्यक्षहरुसँग छलफल र परामर्श गर्ने, जेठ ८ गते संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीहरुको ध्यानाकर्षण गराउने, जेठ ९ देखि १२ गतेसम्म सञ्चार माध्यमका सम्पादकहरुसँग भेट गरी सञ्चार अभियान सञ्चालन गर्ने, जेठ १३ र १४ गते सांसदहरुसँग छलफल गर्ने, जेठ १६ गते प्रेस स्वतन्त्रता सेनानीसँग छलफल गर्ने र जेठ १८ देखि २० गतेसम्म महासंघको प्रतिष्ठान शाखा, र एसोसिएटहरुको आयोजनामा विधेयकका कारण समाचार कक्षमा पर्ने प्रभावबारे छलफल चलाउने महासंघको कार्यक्रम छ ।

त्यसैगरी,जेठ २३ र २४ गते राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अभिकारकर्मीसँग अन्तर्क्रिया गर्ने, जेठ २५ गते अपरान्ह ३ बजे काठमाडौंको वानेश्वरदेखि बबरमहलसम्म मानव हातेसाङ्लो बनाई बृहत प्रदर्शन गर्ने निर्णय महासंघले गरेको छ ।

महासंघले उपत्यकाबाहिर प्रदेश राजधानीमा पनि मानव हातेसाङ्लो बनाई प्रदर्शन गर्ने कार्यक्रम तय भएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित