‘संसारभरि नै फैलिएको छ बुद्धको ज्ञान’

काठमाडौं : भारतको पाँच दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्कने कार्यक्रम रहेको छ । भ्रमणको अन्तिम दिन आज प्रधानमन्त्री देउवाले विहार राज्यमा रहेको वोधगयामा विशेष पूजा तथा अवलोकन गरेका छन् । देउवा आज साँझ काठमाडौं फर्कने कार्यक्रम छ । नेपालमा जन्मेका गौतम बुद्धले भारतको वोधगयामा आए बुद्धत्व एवं ज्ञान प्राप्त गरेका थिए । प्रधानमन्त्रीसहितको टोली १० बजे वोधगया पुगेको थियो । वोधगयामा एक घन्टाभन्दा बढी समय बिताएका प्रधानमन्त्री देउवाले वोधगयाको बारेमा जानकारी लिएका थिए । वोधगया मन्दिर तथा धार्मिकस्थलको अवलोकनपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री देउवाले बुद्धको लोकप्रयिता संसारभरि नै बढ्दै गएको बताए । नेपाल र भारतमा मात्र होइन, संसारभरी यस धर्मका अनुयायीहरु बढिरहेको बताउँदै उनले भने–‘बुद्ध नेपालमा जन्मनु भयो र यहाँ आएर ध्यान गरेर ज्ञान प्राप्त गर्नु भयो र यो ज्ञान अहिले संसारभरि नै फैलिएको छ ।’ मन्दिर परिसरमा आगन्तुक पुस्तिकामा लेख्दै प्रधानमन्त्री देउवाले बुद्धको ज्ञानले आगामी पुस्ताहरुलाई पनि प्रेरणा दिइरहने उल्लेख गरेका छन् । उनले अगन्तुक पुस्तिकामा ‘यो पवित्रस्थलको भ्रमण गर्न पाउँदा मलाई गौरवको महसुस भइरहेको छ । यो स्थलप्रति सारा मानव समुदायको भावनात्मक सम्बन्ध रहेको छ ।’ भन्ने कुरा उल्लेख गरेका छन् । भारत भ्रमणका विषयमा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी जानकारी दिने कार्यक्रम छ। आफ्नो पहिलो विदेश भ्रमणका क्रममा भारत पुगेका प्रधानमन्त्री देउवाले उच्चस्तरीय भेटवार्ता, छलफल तथा धार्मिक स्थलको भ्रमण गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित