बजेट ०७६/७७ : खरका छाना भएका परिवारलाई जस्तापाता

youbraj khatiwawa

  काठमाडौं । सरकारले हुलाकी राजमार्गमा २७ वटा आधुनिक सहर विकास गर्ने भएको छ । सुरक्षित तथा विकसित आवासका लागि सुविधा सम्पन्न सहर विकास गर्न सरकारले १ अर्ब ८५ करोडभन्दा बढी बजेट विनियोजन गरेको छ ।

राजमार्गमा ऐतिहासिक र सांस्कृतिक रूपमा महत्त्वपूर्ण सहर विकास र संरक्षण गरिने बजेटमा उल्लेख छ । सरकारले १ सय ८५ नगरपालिकामा भौतिक पूर्वाधार विकास गर्ने भएको छ । रुकुम पूर्व र नवलपरासी पूर्वलाई नमुना जिल्ला सदरमुकामका रूपमा विकास गर्न भौतिक पूर्वाधारको निर्माण गरिने पनि बजेटमा उल्लेख छ ।

विराटनगर, इटहरी, सिमरा, नेपालगन्ज, धनगढीको अत्तरियालगायतका सहरलाई मेगासिटीका रूपमा विकास गरिने भएको छ । केही सहरलाई स्मार्ट सिटीका रूपमा विकास गरिने बजेटमा बताइएको छ । जनता आवास र सुरक्षित आवास कार्यक्रम अघि बढाउने र बस्ती आधुनिक बनाइने बजेटमा उल्लेख छ ।

जनता आवासका लागि करिब ३० हजार घर निर्माणका लागि करिब ४ अर्ब बढी बजेट विनियोजन गरिएको छ । यस्तै, जोखिमयुक्त बस्तीलाई स्थानान्तरण गरेर एकीकृत बस्ती विकास गरिनेछ । खर र फुसका छाना भएका घरधनीलाई जस्तापाता उपलब्ध गराइनेछ ।

उपत्यकामा संसद् भवन, स्टेट हाउस, संघीय मन्त्री निवास, मुख्यमन्त्रीको सम्पर्क कार्यालय तथा निवास निर्माण गर्न पनि बजेट छुट्याइएको छ । ३ हजार सिट क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र ५ सिट हजार क्षमताको बहुउद्देश्यीय भवन निर्माण गरिने भएको छ ।

७ वटै प्रदेशका भौतिक प्रादेशिक संरचना तीन वर्षभित्र निर्माण गरिने बजेटमा उल्लेख छ । उपत्यकालाई धूलोमुक्त बनाउन फुटपाथ, विद्युतीय सवारी साधनलाई प्रोत्साहित गर्ने र खुला स्थान, पार्क, हरियाली पार्क निर्माण गर्ने भनिएको छ ।

टेलिफोनलगायत तारलाई भूमिगत रूपमा बिछ्याइने भएको छ । नगर विकास कोषलाई नेपाल सहरी विकास निगमका रूपमा विकास गरिनेछ । सरकारले सहरी विकास तथा आवास निर्माणका लागि ४ अर्बभन्दा बढी विनियोजन गरिएको छ । (कान्तिपुर दैनिक)

प्रतिक्रिया

सम्बन्धित