मोदीको सपथ ग्रहण आज, प्रधानमन्त्री ओली पनि भारत जाँदै

kp and modi

   काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज पद तथा गोपनीयताको सपथ ग्रहण गर्दैछन् । उनलाई राष्ट्रपति रामनाथ कोविन्दले साँझ ७ बजे सपथ ग्रहण गराउने छन् ।

मोदीको सपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि पुग्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार ओली दिउँसो १ः३५ बजेको उडानबाट दिल्ली जानेछन् । सपथग्रहण समारोहपछि मोदीसँग द्विपक्षीय वार्तापछि ओली शुक्रबार नै स्वदेश फर्किनेछन् ।

सपथग्रहण समारोहमा ८ हजार जनालाई निम्तो दिइएको छ । यो सपथ ग्रहण समारोह हालसम्मकै भव्य हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

सपथ ग्रहण समारोहमा नेपाल, भुटान, मोरिससका प्रधानमन्त्री तथा श्रीलंका, बंगलादेश, म्यानमारका राष्ट्रपति पनि सहभागी हुनेछन् । थाइल्याण्ड र कीर्गिस्तानका सरकार प्रमुखलाई पनि सपथग्रहण समारोहमा बोलाइएको छ ।

तर, यसपटक पाकिस्तानका प्रधानमन्त्रीलाई सपथग्रहण समारोहमा बोलाइएको छैन । अघिल्लो पटक सार्क देशका प्रमुखहरु सहभागी थिए ।

हालै भएको १७ औं लोकसभा निर्वाचनमा भाजपाले स्पष्ट बहुमत हासिल गरेपछि मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न लागेका हुन् ।

यस पटक ६५ जना मन्त्री हुनसक्ने अनुमान भारतीय मिडियाहरुले लगाएका छन् । यसपटक भाजपाका अध्यक्ष अमित शाह पनि मन्त्री बन्ने चर्चा छ । तर, मन्त्रालय टुंगो लागेको छैन । यद्यपि अमित शाह वित्त मन्त्री बन्ने चर्चा छ ।

प्रतिक्रिया

सम्बन्धित