अपराध महाशाखा र काठमाडौं परिसर अब आफ्नै भवनमा

kathmandu parisar

  काठमाडौं । २०७२ सालको भूकम्पपछि पालमुनी बसेर दैनीक कार्य सञ्चालन गर्दै आएको महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको आ–आफ्नो भवन बन्ने भएको छ ।

परिसर र महाशाखाको भवन निर्माण सम्पन्न भएसँगै सम्पूण जनताको शान्ति सुरक्षाको जिम्मेवारी लिएको प्रहरीको यस्तो अवस्था अब भने केही सज हुने भएको छ ।

जेठ १०, १३ र १५ गते बसेको मन्त्रिपरिषद् बैठकले परिसर र महाशाखाको भवन निर्माणका लागि जग्गा प्रदान गर्ने निर्णय गरेको थियो ।

नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७४ भदौ १९ गतेको निर्णयबाट नेपाल खाद्य संस्थानको स्वामित्वमा रहेको काठमाडौं महानगरपालिका रामशाहपथस्थित कित्ता नं. २३९७ को क्षेत्रफल ६२–१–३–१ रोपनीमध्ये प्रहरी परिसर काठमाण्डौंलाई ३२ रोपनी जग्गा उपलब्ध गराउने निर्णय भएको थियो ।

तर, जेठ १५ गतेको मन्त्री परिषद् बैठकले भने हाललाई महानगरीय प्रहरी परिसर, काठमाडौंको नाममा प्रतिआना ५० लाख रुपैयाँका दरले १५ रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको हो ।

जसका लागी १ अर्ब २० करोड रुपैयाँ र रजिष्ट्रेशन पास गर्न लाग्ने रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई निकासा दिने निर्णय गरिएको छ ।

त्यसैगरी साविक नेशनल ट्रेडिङ लिमिटेड हाल नेपाल आयल निगमको स्वामित्वमा रहेको काठमाडौं महानगरपालिकाको टेकुस्थित महानगरीय प्रहरी परिसर र अपराध महाशाखा, काठमाण्डौंको कार्य सञ्चालन भइरहेको भवन तथा सो वरिपरीको जग्गामध्ये ९ रोपनी जग्गा नेपाल प्रहरीको अपराध महाशाखा, काठमाडौंको नाममा रजिष्ट्रेशन पास गर्ने निर्णय गरिएको छ ।

यो निर्णय भएसँगै प्रहरी प्रधान कार्यालयले पनि भवन निर्माणको प्रक्रिया अगाडि बढाउने भएको छ । दुबै तर्फको भवन निर्माणका लागि ३५ करोड रकम लाग्ने बताइएको छ । जसमध्येको ३० करोड रुपैयाँ भने जम्मा भइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

२०७२ बैशाख १२ को विनाशकारी भूकम्पका कारण हनुमानढोकामा रहेका परिसर र महाशाखाका भवन क्षतिग्रस्त भएपछि नेशनल ट्रेडिङ रहेको टेकूका टहरामा परिसर र महाशाखा सञ्चालन हुँदै आएका छन् ।

सांस्कृतिक सम्पदाहरुले भरिपूर्ण हनुमानढोकामा रहेको परिसर र महाशाखाको भवन पुनः निर्माणका लागि उत्खनन गर्न पुरातत्व विभागले स्वीकृति नदिंदा महाशाखा र परिसर त्यहाँबाट सर्नु परेको हो ।

प्रतिक्रिया

सम्बन्धित