खगेन्द्रलाई अन्नपूर्ण म्याराथनको उपाधि
काठमाडौं । दोस्रो अन्नपूर्ण म्याराथनको उपाधि खगेन्द्र भाटले हात पारेका छन् । अन्नपूर्ण आधार शिविर (एबीसी) देखि घान्द्रुकसम्मको ४२.१९५ किलोमिटर दूरी भाटले ४ घण्टा ६ मिनेट ५३ सेकेन्डमा पार गरेका हुन्।
दोस्रो अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव अन्तर्गत अन्नपूर्ण आरोहण दिवस (जुन ३) का अवसरमा सोमबार एबीसीदेखि घान्द्रुकसम्म अन्नपूर्ण म्याराथनको आयोजना गरिएको थियो ।
भाट पेशाले आर्मी हुन् । यस वर्षको म्याराथनमा आर्मिकै वर्शच्व रह्यो । गत वर्ष पहिलो भएका आर्मीका हरिकुमार रिमाल यसवर्ष दोस्रो भए । उनले ४ घण्टा १४ मिनेट ४० सेकेन्डमा निर्धारित दूरी पूरा गरे । गत वर्ष उनले ४ घण्टा १७ मिनेटमा म्याराथन पूरा गरेका थिए ।
आर्मीकै गोपाल तामाङले ४ घण्टा २२ मिनेट २९ सेकेन्ड दूरी पार गरे । घान्द्रुकका स्थानीय धावक सचिन गुरुङ चौंथो भए । उनले ४ घण्टा २७ मिनेट २५ सकेन्डमा म्याराथन पूरा गरे ।
अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले जेठ १७ देखि २० सम्म आयोजना गरेको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको अन्तिम दिन म्याराथन भएको हो ।
एबीसीबाट सुरु भएको म्याराथन माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, टाँडापानी, भैंसीखर्क हुँदै घान्द्रुकमा टुंगिएको थियो । म्याराथनमा ५५ धावकले सहभागिता जनाएका थिए ।
म्याराथनमा पहिलो हुनेले १ लाख ५ हजार रुपैयाँ, दोस्रो हुनेले ७५ हजार रुपैयाँ र तेस्रो हुनेले ५५ हजार रुपैयाँ प्राप्त गरे । विजयी धावकलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा सुनारले पुरस्कार वितरण गरे ।
प्रतिक्रिया