विश्वकप क्रिकेट : श्रीलंकाले पहिलो पटक जित्दा अफगानिस्तानको दोस्रो हार

shrilanka

    काठमाडौं । विश्वकप क्रिकेट अन्तर्गत गएराती भएको खेलमा श्रीलंका विजयी भएको छ । अफगानिस्तानलाई ३४ रनले पराजित गर्दै श्रीलंकाले पहिलो जित दर्ता गरेको हो। श्रीलंका विजयी हुँदा अफगानिस्तानले भने दोस्रो हार ब्यहोर्यो । अफगानिस्तान यसअघि अस्ट्रेलियाँसग ७ विकेटले पराजित भएको थियो भने श्रीलंका पहिलो खेलमा न्युजिल्याण्डसँग १० विकेटले पराजित भएको थियो ।

श्रीलंकाले अफगानिस्तानलाई डिएल नियम अनुसार पराजित गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ३६.५ ओभरमा अलआउट हुँदै २०१ रन बनाएको थियो। तर, वर्षाका कारण खेल दुईपटक रोकिएपछि ४१ ओभरमा घटाइएको खेलमा अफगानिस्तानले डिएल पद्दति अनुसार १८७ रनको लक्ष्य पाएको थियो।

नयाँ लक्ष्य पछ्याउने क्रममा अफगानिस्तान ३२.४ ओभर खेल्दा १५२ रन बनाउँदै अलआउट भयो। लक्ष्य पछ्याउने क्रममा ओपनर मोहम्मद शहजाद र हज्रतुल्लाह जजईले ३४ रनको साझेदारी गरेपनि त्यसपछि भने अफगानिस्तानले लगातार विकेट गुमायो।

अफगानिस्तानका शाहजाद ७ रनमा आउट हुँदा रहमत शाह २, हाश्मतुल्लाह शाहिदी ४, मोहम्मद नाबी ११ तथा जजई ३० रनमा आउट भएका थिए।

यसरी ५७ मा ५ विकेट गुमाएको अफगानिस्तानको पारीलाई नजिबुल्लाह जद्रान तथा कप्तान गुलबदिनले ६४ रनको साझेदारी गर्दै जितको आशा दिलाए।

तर नुवान प्रदिपले दुई विकेट लिदैं श्रीलंकालाई पुनः खेलमा फर्काए भने दिमुथ करूणारत्नेले नजिबुल्लाहलाई ४३ रनमा रनआउट गरिदिएपछि अफगानिस्तान खेलमा फर्कन सकेन।

हिजोको खेलमा श्रीलंकाका लागि नुवान प्रदिपले सर्वाधिक चार विकेट लिए भने लसिथ मालिंगाले ३ विकेट लिए। त्यसैगरी इसुरू उडाना र थीसारा परेराले समान १(१ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाको लागि कुशल परेरले ७८ रनको योगदान दिए भने कप्तान दिमुथ करूणारत्ने तथा लिरू थिरिमानेले क्रमशः ३० र २५ रनको योगदान थिए।

अफगानिस्तानका लागि मोहमद नाबीले ४ विकेट लिएका थिए भने डलट जड्रान र राशिद खानले २(२ विकेट लिएका थिए।

प्रतिक्रिया

सम्बन्धित