यसरी मनाउँदैछन् हिन्दू धर्मावलम्वी महिलाहरु ऋषिपञ्चमी

काठमाडौं : नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको तेस्रो दिन आज शनिवार भाद्र शुक्ल पञ्चमी अर्थात हिन्दूधर्मावलम्बी महिलाहरूले सप्तऋषिको पूजा अर्चना गरेर ऋषिपञ्चमी पर्व मनाउँदैछन्। बिहान सबेरै उठी नदी, पवित्र तलाउ आदि स्थानमा गई माटो, गोबर, तिल, कुश, अपामार्ग (दतिवन) लगायतको प्रयोग गरी स्नान गर्ने चलन छ। विशेषगरी अपामार्गका ३६५ डाँठले दाँत माझ्ने र ३६५ वटा पातले नुहाउनेलगायत प्रक्रिया अपनाइन्छ। ३६५ पटक स्नान गर्नुपर्ने मान्यताका आधारमा महिलाहरू चाल्नोबाट पानी खन्याई नुहाउने गर्छन्। विधिपूर्वक स्नान गरी सप्तऋषिको पूजा गर्ने परम्परा छ। कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठसहित उनकी पत्नी अरुन्धतीको पूजा गरिन्छ। सप्तर्षिको पूजा गर्दा फूललगायतका वस्तु ३६५ को संख्यामा चढाउने विधान छ। विधिपूर्व सप्तर्षिको पूजा गर्नाले महिनावारी भएका बेला अञ्जानमा गरेका पाप नष्ट हुन्छन् भन्ने मान्यता छ।

भविष्योत्तर पुराणको भनिएको ऋषिपञ्चमी व्रतकथामा भने यो व्रत महिलाले मात्र नभई पुरुषले गर्नुपर्ने बताइएको छ। पतिपत्नी दुवै मिलेर सात वर्षसम्म लगातार व्रत बसी उद्यापन गर्ने विधि छ। यो दिन विशेषगरी काठमाडौंको टेकुस्थित ऋषेश्वर मन्दिरमा घुइँचो लाग्छ। पूजा सकी महिलाहरू कर्कलाको तरकारीसँग भोजन गर्छन्। ऋषिपञ्चमी व्रतकथामा पनि आज विशेषगरी नजोती, नखनी फलेका कन्दमुलहरू खानुपर्ने उल्लेख गरिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित