धोनीको पञ्जाले तात्याे विश्वकप, टेप टाँसेर लगाउने तयारी

dhoni

 काठमाडौं । इंल्याण्ड र वेल्सको संयुक्त आयोजनामा जारी विश्व क्रिकेट २०१९ मा भारतीय क्रिकेटरले प्रयोग गरेको पञ्जालाई लिएर विवाद उत्पन्न भएको छ । भारतका महेन्द्रसिंह धोनीले लगाएको पञ्जाका कारण उनी विवादमा तानिएका हुन्
बुधबार दक्षिण अफ्रिकाविरुद्धको जितका क्रममा धोनीले विशेष लोगो प्रयोग भएको हरियो रंगको पञ्जा लगाएका थिए ।

विश्व क्रिकेटको नियमक निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले विश्वकपको विकेटकिपिङका क्रममा सैन्य प्रतीक चिन्ह भएको पञ्जा प्रयोग गर्ने अनुमति नभएको जनाएको छ ।

यद्यपी आईसीसीले त्यसको विरोध गरेलगत्तै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) धोनीले प्रतिरक्षामा उत्रिएको छ । तर, आईससीसीले भने त्यसलाई स्वीकार गरेन ।

धोनी भारतीय सेनाको प्यारासुट रेजिमेन्टका मानार्थ लेफ्टिनेन्ट कर्नेल हुन् । बीसीसीआईले आईसीसीलाई पत्र लेखेर धोनीलाई उक्त पन्जा प्रयोग गर्न दिन अनुमति मागेको थियो । तर,आईसीसीले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘पछिल्लो खेलमा धोनीले लगाएको विशेष लोगोसहितको विकेटकिपिङ पञ्जा पुनः प्रयोगका लागि अनुमति छैन ।’

‘आईसीसीद्वारा आयोजित प्रतियोगिताका नियमअनुसार कुनै पनि व्यक्तिगत सन्देश वा लोगोलाई कुनै जर्सी वा अन्य उपकरणमा प्रयोग गर्ने अनुमति छैन,’ विज्ञप्तिमा भनिएको छ,‘विकेटकिपरको पन्जामा कुनै लोगो प्रयोग गर्न अनुमति दिँदा सम्बन्धित नियमको उल्लंघन हुनेछ ।’ विश्वकपका लागि आईसीसीको नियमअनुसार जर्सी वा अन्य सामानमा मात्र दुई निर्माता कम्पाीको पहिचान उल्लेख गर्न छुट छ । यसबाहेक पन्जामा कुनै प्रकारको राजनीतिक वा जातीय अर्थ दिने प्रस्तुति हुनुहुन्न ।

यता, बीसीसीआईले आईसीसीलाई एक औपचारिक आग्रहसहितको जवाफ दिँदै धोनीले प्रयोग गरेको लोगोको प्रतिरक्षा गरेको छ । ‘यो लोगो अर्धसैनिक दस्ताको भएका कारण धोनीले आईसीसीको कुनै नियम उल्लंघन गरेका छैनन्,’ बीसीसीआईले जवाफमा भनेको छ ।

यद्यपी धोनीले भने पञ्जामा भएको लोगोलाई टेपले छोपोर बाँकी खेलमा पनि यही पञ्जा प्रयोग गर्ने सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित