पशु अधिकारको क्षेत्रमा मनवीय संवेदनहिनता कहिलेसम्म ?

pashu

पशु कल्याणका लागि ऐनको प्रभावकारी कार्यान्वयन गर्न माग
काठमाडौं । पशु अधिकारकर्मीहरुले पशु कल्याण सम्बन्धमा बनेका ऐन तथा नियमहरुको प्रभावकारी कार्यान्वयन गर्न माग गरेका छन् । राजधानीमा आयोजीत अन्तक्र्रियामा सहभागीहरुले पशुकल्याण सम्बन्धी प्रभावकारी कानून नै बन्न नसकेको तथा भएका कानूनको पनि कार्यान्वयन हुन नसकेको बताएका हुन् ।

नेपालमा पशुकल्याणको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको संस्था नेपाल पशुकल्याण संघ तथा स्नेहाज केयरका अध्यक्ष स्नेहा श्रेष्ठले पशु ढुवानी सम्बन्धी मापदण्ड २०६४ सालमै जारी गरिएको भएपनि हाल सम्म पनि त्यसको प्रभावकरी कार्यान्वयन हुन नसक्नु लाज्जाको विषय भएको बताइन् ।

उनले भनिन्–‘पशु ढुवानी सम्बन्धी मापदण्ड बनेको १२ बर्ष वितिसक्दा पनि पशुहरुलाई जथाभावी कोचेर, नाकमा रसी लगाएर तथा पुच्छर बाँधेर ट्रकमा कोचेर ल्याउने कार्य नरोकिनुले नेपालमा पुश कल्याण र पशु अधिकारको यथार्थता प्रष्ट हुन्छ । पहिले आफु व्यक्ति सच्चिनुपर्छ अनि मात्रै पशु अधिकार तथा पशुकल्याण भनेको के हो भन्ने बुझ्न सकिन्छ ।’

निमार्णको क्रममा रहेको पशु कल्याण सम्बन्धी ऐन लागू भएपछि मात्रै पशु कल्याण तथा पशु अधिकारको क्षेत्रमा देखिएको मनवीय संवेदनहिनताको अन्त्य हुने विश्वास उनको थियो ।

कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका पूर्व सचिव कृष्णचन्द्र पौडेलले भने–‘पशुको पनि मानिसको जस्तै आत्म हुन्छ, पीडा हुन्छ । तर, व्यक्त मात्रै गर्न नसकेका हुन् । त्यसैले यी कुरा नबुझेसम्म पशु अधिकार र पशुकल्याणबारे बुझ्न सकिंदैन ।’

उनले नेपाल सरकारले पशुकल्याण सम्बन्धमा बनेका प्रावधानहरुलाई प्राथमिकता दिन नसकेको र पशु कल्याण सम्बन्धी शिक्षा र जनचेतनको पनि अभाव रहेको बताए ।

‘कसैले कुकुरलाई कुटेर मा¥यो भने कहाँ उजुरी गर्ने कसलाई उजुरी गर्ने र के कारवाही हुन्छ भन्ने जानकारी नै छैन । यस्तो अवस्थामा कसरी पशुको कल्याण गर्न सकिन्छ ।’ उनले भने ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका निमित्त सचिव डाक्टर विमलकुमार निर्मलले पशुकल्याण ऐन आउन ढिलाई हुँदा पशुु कल्याणको क्षेत्रका सोचे अनुरुपको काम गर्न नसकिएको बताए ।

फ्रान्समा आफुले पशु कल्याणको व्यवस्था नहुँदा लज्जाबोध गरेको अनुभव सुनाउँदै उनले भने–‘म केही समय अघि फ्रान्समा पशुपंक्षी सम्बन्धी एउटा कार्यक्रममा सहभागी हुन गएको थिए, त्यहाँ नेपालका सडकमा कुकुरहरु जथाभावी छाडिएको भिडियो देखाइयो म नेपालको प्रतिनिधित्व गरेर गएको मान्छे त्यो भिडियो देखेर मलाई लज्जा बोध भयो र आफु बसेको स्थानबाट उठेर पछाडी गएर बसे ।’

त्यस्तै डा. निर्मलले नेपालका पशु फर्ममा पशुपालन मात्रै भएको छ कि ? ति पशुहरुको अधिकार तथा कल्याणको बारेमा पनि काम गरिएको छ त्यसको अनुगमन गर्न मातहतका निकायलाई निर्देशन दिए ।

उनले भने–‘‘पशुपालन गर्ने फर्म गएर पशुको कल्याण सम्बन्धी काम सन्तोषजनक छ की छैन तपाईहरुले अनुगमन गर्नुस् यदि त्यस्तो छैन भने ति फर्महरु बन्द गर्नुपर्छ । साथै तिनीहरुलाई दिने गरिएको अनुदान पनि बन्द गनुपर्छ । मन्त्रालयले यो कार्यलाई कडाईका साथ लागु गराउने छ म प्रतिवद्धता जनाउन चाहन्छु ।’

कार्यक्रममा अधिवक्ता पदमबहादुर श्रेष्ठले नेपालमा पशु कल्याणका सन्दर्भमा भएका कानूनी प्रावधानहरुको चर्चा गर्दै सर्वोच्च अदालतबाट ऐन नियम बनाउन निर्देशन आउँदा समेत सरकारले चासो नदिएको गुनासो गरे ।

सर्वोच्च अदालतले दिएको आदेशको स्मरण गर्दै उनले भने–‘पशुकल्याण सम्बन्धी ऐन बनाउन माग गर्दै आफुले दायर गरेका रिटमा सर्वोच्च अदालतले २०७५ साल माघ १० गते परमादेश जारी गरेको छ । जसमा गाई गोरुको संरक्षण गर्न २०७६ बैशाख ८ मा आदेश दिएपनि त्यसको कार्यान्वयन भएको छैन ।’

‘राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्न पञ्चबर्षे योजना बन्ने मुलुकमा पशुको कल्याण गर्न किन योजना बन्दैनन् ?’–उनले प्रश्न गरे ।

कार्यक्रममा केन्द्रीय रेफरल भेटनरी अस्पतालका प्रमुख डा. बलराम थापाले दैनिक ५ देखि ६ वटा कुकुर तथा त्यतीनै सङ्ख्यामा गाई तथा गोरु घाइते भएर भेटनरी अस्पतालमा आउने गरेको बताउँदै टाइसुट लगाएर गाडी हाँक्ने र आफुलाई सम्भ्रान्त बर्गको ठान्नेहरुले नै पशुपंक्षीहरुलाई घाइते बनाउने गरेको भन्दै आक्रोश व्यक्त गरे ।

कार्यक्रममा पशु क्वारेन्टाइन कार्यलयका प्रमुख श्रीराम न्यौपानेले सीमित जनशक्तिका बाबजुत पनि पशु कल्याणको लागि काम गरिरहेको बताए ।

व्यक्तिको मानसिकतमा परिवर्तन नभएसम्म पशुको अधिकारका लागि जतीनै पहल गरे पनि न्युनिकरण गर्न नसकिने भन्दै उनले उनले पशुलाई ढुवानी गर्दा ट्रकमा नभई त्यसको विकल्प खोज्न आग्रह गरे ।

स्नेहाज केयरका प्रबन्ध निर्देशक कपिल काफ्लेले पशु क्वारेन्टाइन तथा पशु ढुवानीमा रहेका त्रुटी सच्याउन सके पशुको कल्याणमा भएका समस्या न्युनीकरण गर्न सकिने धारण राखेका थिए ।

नेपाल प्रहरीका एसएसपी भीम ढकालले प्रहरी प्रशासनले पशुपक्षीको अबैध निकासी नियन्त्रण गर्न तथा पशु अधिकारको रक्षा गर्न आफ्नो तर्फबाट सक्दो सहयोग गरिरहेको बताएका थिए ।

त्यसैगरी २०७६ की मिस नेवा रीजु मानन्धरले पशु अधिकार तथा कल्याणको कुरा बाहिर मात्रै नभइ चीडिया घरमा रहेका पुशहरुमा पनि लागुहुनुपर्ने बताइन् ।

उनले आगामी दिनमा आफु स्नेहा केयरसँग सहकार्य गरेर पशु अधिकारका साथै कल्याणको क्षेत्रमा काम गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

कार्यक्रममा धर्म गुरु तथा भिक्षुहरुले पशुबलीको बारेमा धर्म शास्त्रमा कतै पनि उल्लेख नभएको दावी गर्दै मानिसहरुले आफ्नो स्वार्थ पूरा गर्नका लागि चलाएको चलन मात्रै भएको बताए ।

कार्यक्रममा सहभागीहरुले जनचेतना जगाउन तथा आफुले आफैलाई परिर्वतन गर्न सके मात्रै पशुको कल्याण गर्न सकिने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित