निगमका कार्यकारी अध्यक्ष खरेलमाथि कारवाहीको तयारी , मन्त्रालयले सोध्यो स्पष्टीकरण

kharel

 काठमाडौं। उडानयोग्य जहाज थन्क्याएर अर्बौँ घाटा निम्त्याउने नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको छ । अक्षम व्यवस्थापनका कारण निगमले व्यहोर्दै आएको घाटा प्रकरणमा  मन्त्रालयले खरेलमाथि बिहीबार चारबुँदे स्पष्टीकरण सोधेको हो ।

सचिवस्तरीय निर्णय गर्दै मन्त्रालयले खरेललाई सोधेको छ, ‘तपाईं कार्यकारी प्रमुख भएर आएपछि निगममा के गर्नुभयो रु निगमलाई आर्थिक रूपमा सक्षम बनाउन के कार्ययोजना बनाउनुभयो ?  पाइलट तथा जनशक्तिको व्यवस्थापनमा के गर्नुभयो र उड्डयन क्षेत्रमा निगमको बजार हिस्सा बढाउन के गर्नुभयो ?’

आन्तरिक उडानका जहाज पार्किङमै थन्किनु, निगमको आर्थिक अवस्था धराशयी हुँदा पनि व्यवस्थापनले कुनै चासो नदेखाउनु गम्भीर विषय भएकाले मन्त्रालयले खरेलसँग जवाफ मागेको मन्त्रालय स्रोतले जनायो ।

खरेलले भने आफू अध्यक्ष भएर आउनुअघिदेखि नै आन्तरिक उडानका जहाज थन्किएको दाबी गरेका छन् । तर, मन्त्रालयका एक अधिकारी खरेलको जवाफ गैरजिम्मेवार रहेको बताउँछन् । ‘कार्यकारी अधिकारसहित नियुक्त भएर आएपछि निगमको अवस्था सुधारमा लाग्नुपर्नेमा पहिल्यैदेखि उस्तै थियो भन्नु गैरजिम्मेवार छ ।

 यसलाई मन्त्रालयले गम्भीर रूपमा लिएको छ,’ ती अधिकारीले भने । अध्यक्ष खरेलको जवाफ आएपछि आगामी दिनमा उनीमाथि चालिने कदमबारे निर्णय हुने मन्त्रालय स्रोतको भनाइ छ । चित्तबुझ्दो जवाफ नआएमा फेरि अर्काे स्पष्टीकरणको चरणमा जान सकिने स्रोतले जनायो । खरेलबारे अन्तिम निर्णय भने पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री केपी ओलीबाटै हुनेछ । (नयाँ पत्रिका)बाट 

प्रतिक्रिया

सम्बन्धित