संविधान संशोधन विधेयक प्रस्ताव अस्वीकृतसंगै एमालेले भन्यो - सरकारमाथि नैतिक प्रश्न खडा

काठमाडौँ । नेपालको संविधानको दोस्रो संशोधन विधेयक प्रस्ताव अस्वीकृत भएपछि नेकपा एमालेले सरकारमाथि नैतिक प्रश्न खडा भएको वताएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकबाट अस्वीकृत भएको उक्त विधेयकबारे प्रतिक्रिया दिँदै प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले विधेयकलाई विशेष समितिमा लगेर छलफल गरौँ भनेर आफूहरुले पटक पटक जोड दिँदै आएको तर सरकारले पर्याप्त छलफल नगरेकाले अहिलेको परिणाम आएको टिप्पणी गरे ।

 नेम्वाङले संशोधनको प्रस्ताव अस्वीकार भएसँगै सरकारमाथि नैतिक प्रश्न खडा भएको पनि बताए । नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले अहिलेलाई अस्वीकृत भएको संविधान संशोधनको भावना सम्बोधन गर्नका लागि काँग्रेसका तर्फबाट फेरि प्रयास हुने बताए । संसद्को आजको बैठकमा संविधान संशोधन प्रस्तावमाथि मत विभाजन गरिँदा संशोधनको पक्षमा आवश्यक दुई तिहाइ मत पुग्न सकेको थिएन । संशोधन विधेयक पारित हुन संसद्मा तत्काल कायम सदस्य सङ्ख्या ५९२ को दुई तिहाइ ३९५ मत हुनुपर्नेमा पक्षमा ३४७ र विपक्षमा २०६ मत परेको थियो । मतदानमा ५५३ सांसदले भाग लिएका थिए ।

  विधेयक पारित हुन ४८ मत पुग्न सकेन । संविधान संशोधन विधेयकका पक्षमा नेपाली काँग्रेसका ८२, राष्ट्रिय जनता पार्टीका २५, सङ्घीय समाजवादी फोरम नेपालका १५, नेपाल लोकतान्त्रिक फोरमका १३, नेकपा (संयुक्त)का तीन मत परेको थियो । अन्य केही साना दलले पनि पक्षमा मतदान गरेका थिए । संशोधन विधेयकका विपक्षमा नेकपा (एमाले) का १८०, राप्रपा(प्रजातान्त्रिक) का १९, नेपाल मजदुर किसान पार्टीका चार, नेपाल परिवार दलका दुई, राष्ट्रिय जनमोर्चाका तीन, मधेश समता पार्टी –बहुजन शक्ति र बौद्धिक जनतान्त्रिकका एक एक मत परेको थियो । नेकपा (माले)ले भने मतदान बहिष्कार गरेको थियो जसका पाँच सांसद छन् ।

प्रतिक्रिया

सम्बन्धित