५ थान हतियार सहित ३ जना विप्लवका कार्यकर्ता पक्राउ, एक जना बैंक लुटेरा

biplab

   काठमाडौं । मोरङ प्रहरीले हतियारको आडमा विभिन्न व्यक्ति तथा संघ संस्थाहरुमा गई डर धम्की देखाई चन्दा असुली गर्ने प्रतिवन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ का तीन जना कार्यकर्तालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीबाट गएको प्रहरी अधिकृत सहितको टोलीले आइतबार बेलबारी नगरपालिका–३, मोरङस्थित स्कुल डाँडाबाट मोरङ सुन्दर हरैचा नगरपालिका–१२ बस्ने बर्ष ४० को अशोक राई र कानेपोखरी गाउँपालिका–६ बस्ने बर्ष ३४ को सुदिप भन्ने कंश धिमाललाई पक्राउ गरेको हो ।

मोरङ प्रहरीका अनुसार स्कुल डाँडामा को१७प ४५८६ नम्बरको मोटरसाईकलमा सवार उनीहरूलाई चेकजाँच गर्ने क्रममा राई र धिमाल प्रतिवन्धित विप्लव समूहसँग आवद्द रहेको खुलेकोले पक्राउ गरिएको हो ।

राई र धिमाल पक्राउ परे लगत्तै प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले हतियार लुकाईराखेको खुलेपछी जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएका प्रहरी टोलिले धिमालको घरमा लुकाई राखिएको अवस्थामा अटोमेटिक पेस्तोल (हतियार) नाल–२ तथा सोही पेस्तोलमा फिट हुने म्याग्जिन ४ थान र गोली १४ बरामद गरेको छ ।

राई र धिमालकै वयान अनुसार उर्लावारी नगरपालिका–२ सालबारीका केन्द्रलाल धिमाललाई पनि उनकै घरबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका केन्द्रलाको घरबाट पनि ३ नाल भरूवा बन्दुक, सो बन्दुकमा प्रयोग हुने बारूद, छर्रा, नटबोल्ट, केप, वासर, पुल्थ्रोमा प्रयोग भएको कपडालगायतका सामाग्रीहरु बरामद भएको  जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी  विश्व अधिकारीले बताए । 

प्रहरीका अनुसार ३ थानमध्ये एउटा भरुवा बन्दुक लोड अवस्थामा रहेको थियो । मोरङ प्रहरीका अनुसार पक्राउ परेका राई जिल्ला जनपरिषद् प्रमुख रहेको तथा सुदिप सक्रिय कार्यकर्ता रहेको बुझिएको छ ।

सुदिप २०६६ सालमा उर्लावारी मंगलबारेस्थित सुनचाँदी पसलमा लुटपाट घटनामा संलग्न र २०६६ सालमा दमक, झापाको लक्ष्मी बैंक लुटपाट घटनामा ७ वर्ष कैद भुक्तान गरेका व्यक्ति भएको पनि खुलेको  पनि एसपी  अधिकारीले बताए । 

पक्राउ परेका व्यक्तिहरूलाई तत्काल मुलुकी फौजदारी अपराध ऐन २०७४ अन्तर्गतको हातहतियार तथा खरखजाना अन्तर्गतको कसुरमा म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित